आज नेपालमा ८९९ जनामा कोरोना संक्रमणको पुष्टि, थप ७ जनाको मृत्यु

आज नेपालमा ८९९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले महिला ३०३ र पुरुष ५९६ जना गरी देशभर ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३९ हजार ४६० पुगेको उनले बताए ।

त्यस्तै नेपालमा आज ५ सय ८८ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २१ हजार ४ सय १० निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।यसैगरी काठमाडौं उपत्यकमा थप २९८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । उपत्यकाको संक्रमितमा काठमाडौंमा १९० ललितपुरमा ६७ र भक्तपुरमा ४१ जना रहेका छन् ।
देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ८ सय २२ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जसमा संस्थागत आइसोलेशनम १० हजार ७०१ जना रहेका छन् र होम आइसोलेसनमा ७ हजार १ सय २१ जना रहेका छन् । आज ११ हजार १२९ जनाको पीसीआर परीक्षण भएको छ । हालसम्म संक्रमितमध्ये २१ हजार ४१० जना निको भएका छन् ।
नेपालमा कोरोना भाइरसबाट एक ४ वर्षीया बालिकासहित थप ७ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार बालिकासहित ३ महिला र ४ पुरुष गरी पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको हो । महोत्तरीमा ४ वर्षीया बालिकाको कोरोनाबाट मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. गौतमले बताए । यस्तै गोरखामा ६५ वर्षीया र रुपन्देहीमा ६८ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको छ । यसैगरी झापा ८६ वर्षीय, रौतहटमा ४० वर्षीय, चितवनमा ७८ र भक्तपुरमा ७७ वर्षीय पुरुषको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय २८ पुगेको छ ।




