सर्जन कुमार शाही
मुगु कार्तिक २४ गते,
मुगुको छायानाथ रारा नगरपालिका ६ मुन्दुका एकै परिवारका चार जनाको हत्या आफन्तबाटै भएको खुल्न आएको छ। हत्या भएको १० दिनपछि १८ गते प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले मुगु सामुहिक हत्याको अनुसन्धानको जिम्मा लिएको थियो ।
टोलीले घटनामा संलग्न आरोपमा २ जनालाई पक्राउ गरेको थियो । दुवै जनालाइ शुक्रबार प्रहरीले पत्रकार सम्मेलनको आयोजना गरि सार्वजनिक गरेको छ ।
हत्या आरोपमा पक्राउ परेका छायानाथ रारा नगरपालिका ७ पिना गाउँ घर भई हाल बाँके बैजनाथ गाउपालिका वडा न १ चिसापानीव बस्ने ३१ वर्षीय काले भन्ने गोर्खराज शाही र मुगुकै मृतककै गाउँका ३१ वर्षीय गोपालबहादुर बोहरालाई प्रहरिले सार्वजनिक गरेको हो ।
हत्यापछि भागेका गोर्खराजलाई सीआईबीको टोलीले यही कात्तिक २० गते सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ५ पञ्चकोशी टोलबाट पक्राउ गरेको थियो । उनी समातिएपछि हत्यामा गोपालको पनि संलग्नता खुलेको प्रहरीको दाबी छ । गोपाललाई गोर्खबहादुर पक्राउ परेको भोलिपल्ट कात्तिक २१ गते मुगुको गमगढी वडा नं २ बाट प्रहरीले पक्राउ गरेको थियो ।
यही कात्तिक ८ गते राति मुन्दुका २८ वर्षीया श्रीदेवी बोहरा, उनका ११ वर्षका छोरा मनोज बोहोरा, ७ वर्षकी छोरी अप्सरा बोहोरा र ५ महिनाका छोरा रहर बोहोराको घरभित्रै हत्या भएको थियो।
हत्या आरोपित गोर्खबहादुर श्रीदेवीका काका र गोपाल भाइ नाता पर्छन्। श्रीदेवी गोर्खराजको दिदी-सासूकी छोरी हुन भने गोपाल मामाका छोरा भएको पत्रकार सम्मेलनमा बताइएको छ ।
घरमा दशै मनाएर ७ गते टीका थाप्न माइत गाउँ कोटिल्ला गएकी श्रीदेवी छोरा छोरी सहित ८ गते वेलुका घर फर्किएकै दिन राति धारिलो हतियार प्रहार गरी उनीहरूको हत्या भएको थियो ।
हत्याका आरोपी गोपालले कतारमा बैदेशिक रोजगारिमा रहेका म्रुतक श्रीदेविका श्रीमान दिपक बोहोरालाइ आफुलाइ पनि भिसा लगाइदिन २ वर्ष अघि आग्रह गरेका दिपकले भिसा मिलाउन नसकिने जवाफ दिएका थिए । त्यही भिसा नमिलाइ दिएको कारण रिस साटेको प्रहरिले बताएको छ ।
रिस साद्ने र लुटपाट गर्ने दुबै जनाको पूर्वयोजना अनुसार गोर्खराज केही दिन पहिले नै गोपालको घरमा पुगेका थिए ।
उनीहरूले सुरुमा लुटपाटको योजना बनाएको र पछि परिवार नै सखाप पारेर हत्या गरेको प्रारम्भिक सोधपुछबाट खुलेको, २०८० जेठमा बाँकेको कोहलपुरबाट गोर्खराज शाही मन्दु पुगेर गोपाल बोहोरालाई भेटेको,
त्यही भेटमा उनीहरूले श्रीदेवीसँग रहेको १०/१२ तोला सुन लुटपाट गर्ने योजना बनाइ सोही योजना अनुसार कात्तिक ५ गते गोर्खबहादुर सुर्खेतबाट मुगु आइ गोपालको घरमा बसेका ७ गते र ८ राती दिउँसो गोपालको पुरानो गोठमा लुकि बसेको गोपालले लुकाएर खाना खुवाएको र कात्तिक ८ गते श्रीदेवी बोहोरा दुई छोरा र एक छोरीसहित माइतीघरबाट फर्किए पछि त्यही बेलुकी गोर्खबहादुर र गोपालले उनीहरूको हत्या गरेको बयानको क्रममा बताएको कर्णाली प्रहरी प्रमुख डिआइजी भिम प्रसाद ढकाल पत्रकार सम्मेलनमा बताउनु भयो ।
हत्यापछि उनीहरूले मृतकले कानमा लगाएका साढे दुई तोलाका सुनका रिङ, २५ लालको तिलहरी लुटि लिइ फरार भएका थिए ।
प्रहरीका अनुसार घटनापछि उनीहरू शव घरभित्रै छाडेर बाहिरबाट ढोकामा ताला लगाइ हिँडेका थिए। गोपाल बोहोरा त्यसपछि पनि गाउँमै बसेको र गोर्खबहादुर भने सुर्खेततर्फ फरार भएका थिए ।
प्रहरीका अनुसार अनुसन्धान टोलिले बाके नेपालगन्ज उप.महानगरपालिका १८ स्थित कारकादो स्थित गजेन्द्र विक्रम शाहिको घरमा गोर्खराज शाहिले लुकाइ छिपाइ राखेको नगद १ लाख ७९ हजार ,निजकै नामको राहदानी,मुगुबाट गएको बसको टिकट फेला पारेको थियो ।
घटनाको अनुसन्धानका लागि सुरुदेखि जिल्ला प्रहरी कार्यालय मुगु प्रहरि नायव उपरिक्षक विरेन्द्र थापाको टोलि र कर्णाली प्रदेश प्रहरी कार्यालयबाट खटिएको २ वटा अनुसन्धान टोलिले घटना स्थल मै खटिएर म्यानुन्ली अनुसन्धान र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का डीएसपी धर्मराज भण्डारीको नेतृत्वमा खटिएको अनुसन्धान टोलिले प्रविधी अनुसन्धान गरेको थियो । म्यानुन्ली र प्रविधी दुबै अनुसन्धानबाट आएको नतिजालाइ केलाइ प्रहरिले मुगु सामुहिक हत्याका आरोपी पक्रन सफल भएको थियो ।
अनुसन्धानका क्रममा सीआईबीको टोली सुर्खेत, बाँके र मुगुसम्म पुगेको थियो ।
अनुसन्धानमा ४ टोलिका १४ सदस्य खटिएका थिए । प्रत्यक टोलिलाइ छुट्टा छुट्टै क्षेत्र छुटाएर अनुसन्धानको गरिएको थियो ।
प्रमुख हत्या आरोपि २ जना सार्वजनिक गरेपनी सामुहिक हत्याको अन्य थप अनुसन्धान जारी रहने पनि डिआइजी ढकालले बताउनु भयो ।





