कञ्चनपुर प्रहरीको चौतर्फी विरोध, पत्रकारलाई छोड्न माग

धनगढी :  कञ्चनपुरमा पक्राउ परेका दुई पत्रकारलाई रिहाइ नगरे आन्दोलन गर्ने पत्रकार महासङ्घ सहित विभिन्न पेसागत सङ्घ सङ्गठनले माग गरेका छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आज नेपाल पत्रकार महासङ्घ कञ्चनपुर शाखाका सदस्य ऐश्वर्या कुँवर र माउन्टेन टेलिभिजनका कञ्चनपुर समाचारदाता पुष्कर भट्टलाई पक्राउ गरेको थियो।

नेपाल पत्रकार महासङ्घ केन्द्र र जिल्ला शाखा कञ्चनपुरले एक प्रेस विज्ञप्ति जारी गर्दै उनीहरूको रिहाइको माग गरेको हो।

केन्द्रीय महासचिव रोशन पुरीले एक विज्ञप्ति जारी गर्दै पत्रकार पक्राउ गरेको घटना प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। उक्त विज्ञप्तिमा प्रहरी माथि कारबाहीको समेत माग गरिएको छ।  त्यस्तै पत्रकार महासङ्घ कञ्चनपुरका सचिव राजेन्द्र प्रसाद अवस्थीद्धारा जारी प्रेस विज्ञप्तिमा प्रहरीले विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ को दुरुपयोग गरी (विद्युतीय कारोबार कसुर) अन्तर्गत मुद्दा चलाई पक्राउ गरिएकोप्रति नेपाल पत्रकार महासङ्घ कञ्चनपुरको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ।

एउटा प्रयोजनका लागि आएको कानुनको अर्कै प्रयोजनमा प्रयोग गरी पत्रकारलाई पक्राउ गरिएकोले पत्रकारद्वयको तुरुन्त रिहाइ गर्न माग गरिएको छ।

माग सम्बोधन नगरिएमा नेपाल पत्रकार महासङ्घ चरणबद्ध आन्दोलनमा जाने ज्ञापन पत्रमा उल्लेख छ।

प्रेस युनियन, प्रेस चौतारी र प्रेस सेन्टरले पनि विज्ञप्ति जारी गर्दै उनीहरूको रिहाइको माग गरेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button