शनिबार बिहान पहिरो खसेर अवरुद्ध बनेको नागढुंगा–मुग्लिन सडक एकतर्फी रूपमा सञ्चालनमा आएको छ । आइतबार साँझ ६ बजे पहिरो पन्छाएर एकतर्फी रूपमा यातायात सञ्चालनमा ल्याइएको नागढुंगा–मुग्लिङ सडक योजना कार्यालयका प्रमुख केशवप्रसाद ओझाले बताए ।
उनका अनुसार बीच सडकमा रोकिएका सवारीसाधनलाई काठमाडौं आउन दिइएको छ । पहिरोको जोखिमले गर्दा अन्य सवारीसाधन राति सञ्चालनमा भने गृह मन्त्रालयले रोक लगाएको छ । मुग्लिनबाट काठमाडौंका लागि छुटेका सवारीसाधनहरूलाई मात्र एकतर्फी रूपमा काठमाडौं आउन दिइएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी किरण बज्राचार्यले बताइन् ।
‘हाललाई मुग्लिनबाट काठमाडौंतर्फ आउनका लागि मात्र एकतर्फी रूपमा सडक खुलाइएको हो,’ उनले भनिन् ‘काठमाडौंका लागि हिँडेका विभिन्न खण्डमा चार हजार गाडी रोकिएका छन्, तीमध्ये साँझ अबेरसम्म १ सय गाडी पास गरिएको छ ।’
उनका अनुसार त्यसपछि मात्र काठमाडौंमा रोकिएका सवारीसाधनलाई गन्तव्यमा पठाइनेछ । बीच सडकमा रोकिएका यात्रुलाई शनिबार र आइतबार नागढुंगा–सिस्नेखोला सुरुङमार्गबाट काठमाडौं ल्याइएको छ ।
सडक विभाग र चन्द्रागिरि नगरपालिकाको समन्वयमा स्थानीय रुटमा चल्ने सवारीसाधनमार्फत सुरुङमार्ग हुँदै यात्रुलाई काठमाडौं ल्याइएको हो । २ हजारभन्दा बढी यात्रुलाई यसरी उद्धार गरिएको हो । त्यस्तै कुखुरा, दूध बोकेका सवारीसाधनलाई पनि सुरुङमार्गबाट काठमाडौं ल्याइएको छ ।





