दशैँको मुखमा दुई दिनको भारी वर्षाले ठूलो जनधनको क्षति गरेपछि मानिसहरुमा अब यात्रा गर्ने वा नगर्ने, गर्दा कसरी सावधानी अपनाउने भन्ने अन्योल छ । फेरि उस्तै जोखिमपूर्ण वर्षा र बाढीको सम्भावना भए/नभएकोबारे समेत सर्वत्र चासो छ ।
मौसमविद्हरुले भने तत्कालै फेरि यस्तै भारी वर्षाको सम्भावना नभएपनि यात्रा गर्दा सतर्कता अपनाउन सुझाव दिएका छन् । भारी वर्षाले जमिन गलेका कारण सकेसम्म रात्रीकालीन यात्रा नगर्नु उपयुक्त हुने मौसमविद्हरुको सुझाव छ ।
शुक्रबार र शनिबार एकैसाथ भारी वर्षा भएकोमा आइतबारदेखि मौसममा सुधार देखिएको छ । मंगलबार पनि त्यसको निरन्तरता हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । तर बुधबारदेखि भने फेरि देशको पूर्वी भेगमा भारी वर्षाको सम्भावना रहेको छ । विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार गजुरेलले बुधबार दिउँसो र राति कोशी र बागमतीका केही ठाउँहरुमा भारी वर्षाको सम्भावना रहेको बताए ।
‘मंगलबार पनि मौसममा आंशिकमात्रै बदली रहने देखिन्छ । बुधबार देशभर आंशिक बदली भएपनि कोशी र बागमतीका केही स्थानहरुमा भने भारी वर्षाको सम्भावना छ,’ उनले भने ।
उनका अनुसार अहिले पनि नेपालमा स्थानीय मनसुनी वायुको प्रभाव कायम छ भने भारतको मध्यप्रदेश र आसपासको क्षेत्रमा विकसित न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव छ । जसकारण मंगलबार साधारणदेखि आंशिक बदली भइ मुख्यतया मौसम सफा रहने, तर केही ठाउँहरुमा भने हल्का वर्षाको सम्भावना रहेको छ ।
बुधबार भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मुख्यतया मौसम सफा रहनेछ भने बाँकी रहेका कोशी, मधेश, वाग्मती र गण्डकी प्रदेशमा मौसम बदली भई हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी र बाग्मतीका केही ठाउँहरुमा भने भारी वर्षा हुन सक्नेछ ।
विभागले हरेक दिन बिहान र बेलुका तीन दिनसम्म मौसम पूर्वानुमान गर्ने गरेको छ ।





