जाजरकोटको भेरी नगरपालिका वडा नम्बर-१३ स्थित जिरो प्वाइन्टमा फोर्स भ्यान दुर्घटनामा परेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक दिनेश तिमिल्सिनाका अनुसार वडा नम्बर ७ स्याउली बजारदेखि नेपालगन्ज जाँदै गरेको बा ५ ख १८९२ नम्बरको गाडी दुर्घटनामा परेको हो ।
प्रहरी निरीक्षक तिमिल्सिनाका अनुसार उक्त गाडी सडकदेखि २५/३० मिटर तल खसेको थियो । दुर्घटनाका सबै घाइतेहरूको उद्धार गरेर जिल्ला अस्पताल खलंगा पठाइएको प्रहरीले जनाएको छ ।
प्रहरीको चेकप्वाइन्टका अनुसार उक्त गाडीमा २१ जना यात्रु रहेको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरी निरीक्षक तिमिल्सिनाले जानकारी दिए । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ । अन्य घाइतेको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।





