भुक्तानी सेवा प्रदायक ‘खल्ती वालेट’का केही कर्मचारीहरूले सेवाग्राहीको व्यक्तिगत कागजात र विवरणहरू आपराधिक गिरोहहरूलाई बेच्ने गरेको पाइएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले गरेको अनुसन्धानमा कम्पनीका कर्मचारीले कमिसन लिएर विवरण उपलब्ध गराउने तथ्य फेला परेको हो ।
सेवाग्राहीका नागरिकताको प्रतिलिपि, फोटो र अन्य व्यक्तिगत विवरण डाउनलोड गरी ती गिरोहलाई उपलब्ध गराउने र सेवाग्राहीको नाममा सिमकार्ड लिने गरेको पाइएको छ । ती सीमबाट वालेट खाता खोल्ने र त्यस्ता खाताहरू अवैध आर्थिक कारोबारमा प्रयोग गरिएको प्रहरी अनुसन्धानबाट पुष्टि भएको छ ।
ग्राहकले खाता खोल्न अनिवार्य भर्नुपर्ने नो योर कस्टुमर (केवाईसी) विवरण दुरुपयोग गरेर ५५ भन्दा धेरै फर्जी वालेट खाता खोलिएको पत्ता लागेको छ । घटनामा संलग्न रहेको आरोपमा खल्ती वालेटका तीन कर्मचारीलाई नियन्त्रणमा लिएको नेपाल प्रहरीले जनाएको छ । प्रहरीले यस घटनामा संलग्न अन्य व्यक्तिहरूको पनि खोजी कार्यलाई तीव्र पारेको जनाएको छ ।
‘वालेटका ग्राहकहरूको केवाईसी रुजु गर्ने विभागका कर्मचारीहरूले सेवाग्राहीहरूले अपलोड गरेका फोटो, नागरिकताको प्रतिलिपिलगायत विवरण आपराधिक गिरोहसँग कमिसन लिई अन्य व्यक्तिहरूको नाममा विभिन्न मोबाईल नम्बरहरूबाट ५५ वटाभन्दा बढी वालेट गैरकानुनी रुपमा खोली आर्थिक कारोबार गर्ने कार्यमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको छ,’ प्रहरीको विज्ञप्तिमा उल्लेख छ ।





