चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने तीनचुली मध्यवर्ती सामुदायिक वनभित्र पाटेबाघलाई पासो थाप्न गएका वृद्धको बाघकै आक्रमणबाट मृत्यु भएको छ । उनीसँगै गएका एक युवकले रुख चढेर ज्यान जोगाए तर अहिले ती युवा निकुञ्जको नियन्त्रणमा छन् । उनीमाथि संरक्षित वन्यजन्तु बाघ मार्ने उद्योगमा निकुञ्जले जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।
नवलपरासी (बर्दघाट–सुस्तापूर्व) जिल्लाको विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर १ बस्ने २० वर्षीय अमृत न्यौपानेलाई निकुञ्ज प्रशासनले नियन्त्रणमा लिई अनुसन्धानपछि आइतबार जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । यस घटनाबारे चितवन राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय कसरामा आइतबार पत्रकार सम्मेलनको आयोजना गरी घटनाबारे जानकारी दिइएको थियो ।
निकुञ्जले दिएको जानकारीअनुसार, घटना दुई महिनाभन्दा पुरानो हो । विनयी त्रिवेणी–१ का अमृत न्यौपाने र सोही ठाउँका ६७ वर्षीय जितबहादुर थिङ टेलिफोनको तार, जिआइ तार र जिआइ तारलाई बटारेर बनाइएको मसिनो लठ्ठासहित जंगल पसे । सामुदायिक वनको लक्ष्मीडाँडा भन्ने ठाउँमा पासो थापे ।
तीन दिनपछि उनीहरु पासो थापेको ठाउँमा पुग्दा त्यहाँ अचानक पाटेबाघ आइपुग्यो । बाघ देखेपछि न्यौपाने नजिकैको रुखमा चढे । खल्तीबाट मोबाइल निकालेर बाघको फोटो खिच्न थाले । थिङ भने बाघको आक्रमणमा परे । उनको त्यहीँ नै ज्यान गयो ।
चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डा. गणेश पन्तले बाघको आक्रमणमा मृत्यु भएका व्यक्ति पहिले पनि वन्यजन्तु अपराधमा संलग्न व्यक्ति भएको अनुसन्धानबाट खुलेको बताए । उनले भने, ‘दुई जना मिलेर घटना हुनुभन्दा तीन दिनअघि पासो थापेका रहेछन् । घटना भएको दिन बाघले आत्मरक्षाको लागि थिङलाई मारेको देखिन्छ । किनकि थिङलाई मारेर बाघले उनको मासु खाएको छैन । त्यसैले यस बाघलाई नरभक्षी भन्न पनि मिल्दैन ।’





