शान्ति सुनार
बाँके, कोहलपुर जेसीजको १७औँ वार्षिक साधारण सभा र १६औँ शाखा अधिवेशन सम्पन्न भएको छ । सोमबार एक औपचारिक समारोहकाबीच कोहलपुर जेसीजका साथै कोहलपुर जुनियर जेसीजको नवौँ साधारण सभा तथा आठौ शाखा अधिवेशन संयुक्त रुपमा सम्पन्न भएको हो ।
संयुक्त अधिवेशनको नेपाल जेसीज वर्ष २०२५ का राष्ट्रिय कोषाध्यक्ष जेसीआई सिनेटर रामप्रसाद पाण्डेले कार्यक्रमको ब्यानर पढेर उद्घाटन गर्नु भएको थियो ।उद्घाटन सत्रका प्रमुख अतिथिसमेत रहनु भएका कोषाध्यक्ष पाण्डेले जेसीज एक सेवामूलक संस्था भएको बताउनुभयो । उहाँका अनुसार जेसीजले विश्वभर झैँ नेपालमासमेत भाइचारा र शान्ति कायम गर्न सामाजिक कार्य गर्दै आएको छ । कोहलपुर जेसीज र कोहलपुर जुनियर जेसीजले समेत स्वयम्सेवामा आफूलाई समर्पित गर्दै आएको र आगामी दिनमा जेसीजको मर्म र उद्देश्यमा आधारित भएर आफ्नो जिम्मेवारी वहन गर्न उहाँले निर्देशन दिनुभयो ।
सोमबार नै कोहलपुर जेसीज र कोहलपुर जुनियर जेसीज वर्ष–२०२५ का लागि नयाँ नेतृत्व चयन गरिएको छ । अधिवेशनबाट कोहलपुर जेसीज वर्ष–२०२५ का जेसी दिपेन्द्र कठायत अध्यक्षमा सर्वसम्मत रुपमा चयन भएका छन् । अधिवेशनबाट कार्यकारिणी उपाध्यक्षहरुमा जेसी मदन भण्डारी र जेसी वीरेन्द्र बम ठकुरीलाई चयन गरिएको छ । यस्तै,उपाध्यक्षहरुमा जेसी यामु कँडेल,जेसी सुमित्रा बराल,जेसी अशोक गौडेल र जेसी विजय चौधरी सर्वसहमत रुपमा चयन भएका हुन् ।
साथै कोहलपुर जुनियर जेसीज वर्ष–२०२५ का लागि नयाँ कार्यसमिति सर्वसहमत रुपमा चयन गरिएको छ ।
सोमबार नै सम्पन्न नवौँ साधारण सभा तथा आठौ शाखा अधिवेशनले प्रख्यात लम्सालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।जसको कार्यकारिणी उपाध्यक्ष डिब्लब बराईली र उपाध्यक्षहरुमा सौजन पोख्रेल, दिपा सुनार हिरालाल राना र अनेश थारु चयन भएका हुन् । कोहलपुर जेसीजको वर्ष २०२४ का अध्यक्ष राज पौडेल र कोहलपुर जुनियर जेसीजका अध्यक्ष अरुना रानाको एकवर्षे कार्यकाल सकिएपछि वर्ष २०२५ का लागि नयाँ जुझारु नेतृत्व चयन गरिएको हो । कोहलपुर जेसीज वर्ष–२०२४ का अध्यक्ष राज पौडेलको अध्यक्षतामा सम्पन्न अधिवेशनमा विभिन्न सरोकारवालाहरुको सहभागिता रहेको थियो ।




