दाङ/ भारतीय एक्जिम बैंकको सशर्त ऋण सहयोगमा ठेक्का भएर पनि अलपत्र परेको घोराही–तुलसीपुर सडक चार लेन विस्तार कालागि नेपाल सरकारले फरि पनि ठेक्का आह्वान गरेको छ ।
आज सार्वजनिक सूचना जारी गर्दै सडक विभाग अन्तर्गतको मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयले तीन अर्ब ९९ करोडको ठेक्का आह्वान गरेको हो ।
यस अघि पनि भारतीय एक्जिम बैंकको सशर्त ऋण सहयोगमा ठेक्का भई काम सुरु भएको सडक स्तरोन्नतिको काम अलपत्र परेपछि ठेक्का सम्झौता रद्द भएको थियो ।
स्थलगत सर्वे एवम् लागत अनुमानको फाइल सडक विभागबाट स्वीकृत भएपछि आज ठेक्का आह्वान गरिएको मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयका निर्देशक इन्जिनियर दीप बाराहीले जानकारी दिए ।
ठेक्कामा आवेदन गर्ने अवधि ३० दिनको तोकिएको छ ।
निर्देशनालयका अनुसार घोराहीको डिके पम्पदेखि तुलसीपुरको हात्तीखौवासम्म करिब साढे २१ किलोमिटर लम्बाइमा सडक चार लेन हुनेछ ।
आयोजनाको कुल अवधि ३६ महिनाको हुने छ ।
ठेक्कामा नेपालभित्रका निर्माण व्यवसायी मात्र सहभागी बनाउने सरकारको नीति सकारात्मक भएको नेपाल निर्माण उद्योग परिषद्का अध्यक्ष बलिभद्र रानाले बताए ।
यस अघि भारतीय एक्जिम बैंकको सशर्त ऋण सहयोगमा स्तरोन्नति हुने भनिएको सडकको लम्बाई घोराहीको कुइरे पानीदेखि तुलसीपुरको हात्तिखौवासम्मको थियो । यसको जम्मा लम्बाई २८ किलोमिटरको थियो तर सबै स्थानमा चारलेनमा सडक स्तरोन्नति गर्ने कार्यक्रम थिएन ।
यस अघि भारतको एक्जिम बैंकको सशर्त ऋणको करिब दुई करोड २१ लाख अमेरिकी डलरको बजेटमा सडकको स्तरोन्नति सुरु भएको भए पनि निर्माण कम्पनीको हेलचक्र्याइँ कारण तीन पटक म्याद थप हुँदा पनि सडक स्तरोन्नतिको काम हुन सकेको थिएन ।
मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालय मार्फत काम गर्नेगरी अर्थ मन्त्रालयले बजेट सुनिश्चित गरेको हो ।





