सर्जन कुमार शाही – मुगु
२०८१ चैत्र २५ गते
मुगु , मुगु जिल्लाको सोरु गाउँपालिकामा आज देखि ईलाका प्रशासन कार्यलय सोरुले नेपाल सरकारले अनिवार्य गरेको राष्ट्रिय परिचयपत्र सेवा सुचारु गरेको छ ।
नेपाल सरकारले राष्ट्रिय परिचयपत्र अनिवार्य गरे यता सामाजिक सुरक्षा भर्तासंग संलग्न सेवाग्राहीहरुलाई सोरु गाउँपालिकादेखी सदरमुकाम गमगढी आउन साह्रै कठिन हुने गरेको स्थानीयहरुले गुनासो गर्दै आएका थिए ।
सोरु गाउँपालिका र ईलाका प्रशासन कार्यलय सोरुको लामो समयको प्रयासले जिल्ला प्रशासन कार्यलय मुगुको राष्ट्रिय परिचयपत्र बिभागले आजदेखि ईलाका प्रशासन कार्यलय सोरुमै राष्ट्रिय परिचयपत्र सेवा सुचारु गरेको छ । आजै राष्ट्रिय परिचयपत्र वितरण सुरु भए यता २० जना भन्दा बढी सेवाग्राहीहरुले सेवा लिई सकेको ईलाका प्रशासन कार्यलय सोरुका प्रमुख भिम बहादुर सेजुवालले जानकारी दिए ।
सोरु गाउँपालिकामा भएको राष्ट्रिय परिचयपत्र सेवा सुचारुले सोरुका स्थानीयहरु मात्र नभई तल्लो हुम्लाका नागरिकहरुका लागि पनि सजिलो हुने प्रमुख सेजुवालले जानकारी दिए । यस अघि तल्लो हुम्लाका नागरिकहरु ३/४ दिन पैदल हिडेर हुम्लाको सदरमुकाम सिमिकोट राष्ट्रिय परिचयपत्र लिन जान परेको थियो ।





