मोहन खत्री,
बर्दिया/ सुरक्षाकर्मीहरूको चार दिनको लगातार प्रयासपछि बाघलाई नियन्त्रणमा लिन सफल भएको छ। सुरक्षाकर्मीहरुले डाँट प्रयोग गरेर यो बाघलाई समातेको हो। बर्दिया जिल्लाको गेरुवा गाउँपालिका वडा नम्बर १ माधवपुर, वनखेतखोला किनारामा उक्त बाघलाई नियन्त्रणमा लिएको हो।
उक्त बाघले गाउँमा पसेर छ वटा गोरु र एउटा सुंगुर समेत मारेको थियो। पटकपटक गाउँ पसेर आक्रमण गरिरहेकोले स्थानीयहरू ठूलो त्रासमा थियो । प्राय गाउँलेहरूको ट्वाइलेट घरबाट बाहिर भएको कारण साँझ परेपछि बाहिर निस्कन समेत डर हुने कुरा स्थानीयवासीहरुले बताए । पटकपटक गुनासो गरेपछि सुरक्षाकर्मीहरुले उक्त बाघलाई मंगलबार साँझ नियन्त्रणमा लिएका थिए ।
निकुञ्जका प्रमुख अशोकरामले सामुदायिक वनबाट बाघलाई नियन्त्रणमा लिएको बताए । राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक टोली, नेपाली सेना र बर्दिया निकुञ्जका कर्मचारीको सहयोगमा मंगलबार राति नियन्त्रणमा लिई निकुञ्जको मुख्यालय ठाकुरद्वारामा राखिएको छ ।
राष्ट्रिय प्रकृति संरक्षण कोष, बर्दियाका प्रमुख अजित तुम्फा हाम्फेले नियन्त्रणमा लिएको बाघ भाले भएको बताए । हात्ती परिचालनदेखि क्यामेरा ट्र्यापिङ गरिएको उनले जनाए । आहाराको अभावमा बाघ बाहिर निस्केर वस्तु भाउ खाने र मानिसमाथि आक्रमण गर्ने गरेकोले समस्याग्रस्त भनिने गरेको छ । केही दिन खोरमा राखेर उक्त बाघलाई निकुञ्जको कोरिडोरमा छाडिने बर्दिया निकुञ्ज स्रोतले बतायो ।





