आइतबार दिउँसो आँबुखैरेनीको ऐना पहरामा दुर्घटना भएको बस बिहान करिब साढे १० बजे गोरखाबाट यात्रु लिएर चितवनका लागि निस्केको थियो । चितवन आउने यात्रुको संख्या कम भएपछि उनीहरूलाई अर्को गाडीमा पठाएर ऐना पहरामै गाडी रोकियो । शहीद लखन गाउँपालिका–६ की सबु थापा मगर र उनका आफन्त सोही बसमा चढेर ऐनापहरा घुम्न आएका थिए । उनीहरूलाई लिएर गोरखा फर्कने भन्दै बस सोही स्थानमा कुरिरह्यो ।
उनीहरू केही बेर ऐना पहरा घुमेर फर्कने तयारी गरे । केही बसमा चढे । कोही चढ्ने तयारीमा थिए । चालकले गाडी स्टार्ट गरेर बाँकी यात्रुलाई कुरेर बसे । केही क्षणमा स्टार्टमै राखेर चालक गाडीबाट ओर्लिए तर, ओट लगाउन बिर्सिए । गाडी विस्तारै पछाडी गुड्न थाल्यो । भित्र रहेका केही यात्रु ढोकाबाट हाम फालेर ज्यान जोगाउन सफल भए । बाँकी पाँच जना भने गाडीबाट ओर्लन नपाउँदै भिरमा खसे ।





