प्रथम छायाँनाथ अल्ट्रा ट्रेल रेस हुँदै
सर्जन कुमार शाही – मुगु
बैशाख , २१ गते
मुगुको मुगुम कार्मारोङ गाउँपालिकाले पहिलाेपटक छायाँनाथ अल्ट्रा ट्रेल रेसको आयोजना गर्ने भएको छ। गाउँपालिकाले आइतबार जिल्ला प्रशासन कार्यालयमा अन्तरक्रिया गरेर आगामी जेठ ३ गते अल्ट्रा ट्रेल रेसबारे जानकारी गराएको हो।
साहसिक खेलमार्फत धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सुरु गर्न लागिएको यस प्रतियोगितामा खेलाडीले ३३.३५ किलोमिटरको दूरी दौडेर पार गर्नुपर्नेछ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास चन्द्र रावलका अनुसार गाउँपालिकाको वडा नम्बर ४ किम्रीदेखि दुई हजार ८८० मिटर उचाइबाट सुरु भएर छायाँनाथ धामसम्म चार हजार ८२० मिटर उचाइमा पुगी फर्केर चिताइकुनाको दुई हजार ४४० मिटर उच्चाइ पार गरी दुई हजार २५५ मिटरमा रहेको अन्तिम विन्दु गाउँपालिका केन्द्र पुलु पुगेर प्रतियोगिताको ३३.३५ किलाेमिटर दूरी पूरा हुनेछ।

प्रथम हुने खेलाडीलाई दुई लाख रुपैयाँ, द्वितीय हुनेलाई एक लाख ५० हजार, तृतीयलाई एक लाख, चौथो हुने खेलाडीलाई  ७५ हजार र पाँचौँ स्थान प्राप्त गर्नेलाई ५० हजार नगद प्रदान गरिने प्रमुख प्रशासकीय अधिकृत रावलले जानकारी गराए।
प्रतियोगितामा छैटौँदेखि दशाैँ स्थानसम्म आउने खेलाडीले प्रोत्साहनस्वरूप जनही चार हजार ८८० रुपैयाँ प्राप्त गर्नेछ्न्। स्थानीय खेलाडीलाई प्रोत्साहन गर्न अर्को पाँच किलोमिटर दूरीको ‘फन रन’ प्रतियोगिता पनि गरिनेछ। उक्त प्रतियोगितामा  प्रथम हुनेलाई ३० हजार, दोस्रो हुनेलाई २० हजार र तेस्रो हुनेलाई १० हजार रुपैयाँ प्रदान गरिनेछ।

प्रतियोगिता महिला र पुरुष दुवै विधामा हुनेछ। प्रतियोगितामा भाग लिन वैशाख २८ गतेसम्म नाम दर्ताको समय तोकिएको छ। मुगुम कार्मारोङ गाउँपालिकाको कार्यालय, जिल्ला खेलकुद विकास कार्यालय गमगढी र नेपाल पर्यटन बोर्ड तथा अनलाइनमार्फत नाम दर्ता गर्न सकिने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here