कोहलपुर, बाँके — कोहलपुर नगरपालिकाको आर्थिक वर्ष २०८३/०८४ को बजेटसम्बन्धी विवरणमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्थानीय तह बजेट पोर्टल र नगरपालिकाको आफ्नै वेबसाइटबीच फरक देखिएको छ।
मन्त्रालयको स्थानीय तह बजेट पोर्टलमा कोहलपुर नगरपालिकाको आ.व. २०८३/०८४ को बजेट ‘पेश भएको’ देखिन्छ। पोर्टलमा बजेट पेश भएको मिति २०८३ असार १० गते उल्लेख छ। तर सोही विवरणमा ‘सभाबाट पारित मिति’ भने खाली रहेको देखिन्छ।
मन्त्रालयको पोर्टलमा सम्बन्धित स्थानीय तहले प्रविष्ट गरेको विवरणका आधारमा बजेटसम्बन्धी सूचना राखिने व्यवस्था रहेको छ। यसकारण कोहलपुरको बजेट विवरण कसरी प्रविष्ट भयो र त्यसमा सभाबाट पारित मिति किन उल्लेख भएन भन्ने विषयमा चासो उत्पन्न भएको हो।
अर्कोतर्फ, कोहलपुर नगरपालिकाको आधिकारिक वेबसाइटको ‘बजेट तथा कार्यक्रम’ खण्ड हेर्दा हाल आ.व. २०८२/०८३ को बजेट तथा कार्यक्रम नै पछिल्लो सार्वजनिक विवरणका रूपमा देखिन्छ। आ.व. २०८३/०८४ को बजेट मन्त्रालयको पोर्टलमा पेश भएको देखिए पनि नगरपालिकाको वेबसाइटमा भने सोही आर्थिक वर्षको बजेट विवरण सार्वजनिक रूपमा देखिँदैन।
नगरपालिकाको जवाफ : ‘प्राविधिक त्रुटि भएको हो, सच्याउँछौँ’
यस विषयमा कोहलपुर नगरपालिकाका वरिष्ठ लेखा अधिकृत युवराज अधिकारीले वेबसाइटमा देखिएको विवरणमा प्राविधिक त्रुटि भएको स्वीकार गर्नुभएको छ।
अधिकारीका अनुसार वेबसाइटमा आ.व. २०८३/०८४ को विवरण हुनुपर्नेमा आ.व. २०८२/०८३ को विवरण देखिनु टेक्निकल इरर (प्राविधिक त्रुटि) भएकाेले सच्याउने बताउनुभयाे । तर मन्त्रालयको पोर्टलमा ‘सभाबाट पारित मिति’ खाली रहनुको विषय भने अझै स्पष्ट हुन बाँकी छ। बजेट सभाबाट पारित भएको भए त्यसको मिति पोर्टलमा किन उल्लेख नभएको हो भन्ने विषयमा सम्बन्धित निकायबाट थप स्पष्टता आवश्यक देखिन्छ।
नगरपालिकाका जिम्मेवार अधिकारीले स्वयं प्राविधिक त्रुटि भएको स्वीकार गर्दै त्यसलाई सच्याउने प्रतिबद्धता जनाउनुभएको अवस्थामा अब उक्त त्रुटि कहिलेसम्म र कसरी सच्याइन्छ भन्ने विषय महत्वपूर्ण हुनेछ।
सार्वजनिक बजेटसम्बन्धी विवरण स्थानीय तहको पारदर्शिता र जवाफदेहितासँग जोडिएको विषय भएकाले नगरपालिकाको वेबसाइटमा २०८३/०८४ को सही बजेट विवरण सार्वजनिक हुनु तथा मन्त्रालयको पोर्टलमा बाँकी विवरणसमेत अद्यावधिक हुनु आवश्यक देखिन्छ।






