तिहारको लागि भारतबाट घर आइरहेका बैतडीको पाटन-६ का ४९ वर्षीय हरिश भण्डारीको मृत्यु भएको छ ।
महेन्द्रनगरबाट बैतडीतर्फ आउँदै गरेको सुपप्र ०२ ००१ ख १०३१ नम्बरको बसमा बेहोस अवस्थामा भेटिएका पाटन नगरपालिका–६ का ४९ वर्षीय भण्डारीको मृत्यु भएको हो । रोजगारीका लागि भारतमा रहेका भण्डारी घर आउँदै थिए ।
सोमबार राति करिब १२ः३० बजे पाटन बजार पुगेका भण्डारी बसभित्रै बेहोस अवस्थामा भेटिएका थिए । उनलाई तत्काल उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र पाटन लगिएको थियो ।
पाटनमा उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल बैतडी रेफर गरिएका भण्डारीलाई मंगलबार बिहान चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ ।





