जनताको काममा ढिलासुस्ती र अटेर गर्ने छुट अब कसैलाई हुदैन : नवनियुक्त गृहमन्त्री अधिकारी

नवनियुक्त गृहमन्त्री खगराज अधिकारीले जनताको काममा ढिलासुस्ती र अटेर गर्ने छुट अब कसैलाई नहुने बताएका छन् ।
विहीबार सिंहदरबारमा पदभारपछि आयोजित कार्यक्रममा गृहमन्त्री अधिकारीले गृह मन्त्रालय २४ घण्टा काम गर्ने मन्त्रालय भएको भन्दै जनताको काममा ढिलासुस्ती र अटेर गर्ने छुट अव कसैलाई नहुने बताएका हुन् ।
उनले गृहबाट फाइल घुमाउने छुट कसैलाइ नहुने चेतावनी दिए । उनले जनताको अधिकारलाई कार्यान्वयन गराउन ध्यान केन्द्रति गर्नुपर्ने उल्लेख गरे । उनले भ्रष्टाचारको दुर्गन्ध आए कम्प्रोमाइज नगर्ने स्पष्ट पारे ।
सरकारले प्रतिनिधिसभाको निर्वाचन तोकिसकेको अवस्थामा निर्वाचनलाई भयरहित बनाउन पनि उनले निर्देशन दिए । त्यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा नियुक्त गरेकी ७ मन्त्री र १ राज्यमन्त्रीले बिहीबार अपरान्ह शपथ लिएका छन् ।
गृहमन्त्रीमा खगराज अधिकारी, उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्रीमा राजकिशोर यादव, सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा नैनकला थापा, कृषि तथा पशुपन्छी विकासमन्त्रीमा ज्वालाकुमारी साह नियुक्त भएका छन्
त्यस्तै वन तथा वातावरणमन्त्रीमा नारदमुनि राना, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा गणेशकुमार पहाडी र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेर्ने गरी मोहन बानियालाई मन्त्री नियुक्त गरिएको छ ।




