काङ्ग्रेस नेताले केपी शर्मा ओलीको हत्या गर्ने धम्की दिए।

काङ्ग्रेसनेकपा एमालेले नेपाली कांग्रेसका बाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले शुक्रबार दिएको अभिव्यक्तिको भर्त्सना गरेको छ । शनिबार प्रवक्ता प्रदीप ज्ञवालीले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्न दिएको धम्कीलाई नेकपा (एमाले) ले अत्यन्त गम्भीर रुपमा लिएको उल्लेख गरेका छन्।
ज्ञवालीले प्रधानमन्त्रीको हत्याका लागि आवश्यक परे आफै पनि तयार रहेको अभिव्यक्ति आपराधिक भएको जनाएका छन्। यो विषय मुलुकको फौजदारी कानुनसमेत आकर्षित हुने एमालेको ठहर छ। विज्ञप्तिमा भनिएको छ,‘प्रधानमन्त्रीको हत्याका लागि अरुलाई समेत दुरुत्साहन गर्ने र आवश्यक परे आफै पनि हत्याका लागि तयार रहेको निजको अभिव्यक्ति आपराधिक, अत्यन्त आपत्तिजनक र निन्दनीय छ । उक्त अभिव्यक्तिको घोर भर्त्सना गर्दै हाम्रो पार्टी यो विषय मुलुकको फौजदारी कानुन समेत आकर्षित हुने विषय हो भन्ने ठान्दछ।’एमालेले कांग्रेसको समेत गम्भीर ध्यानाकर्षण गराएको छ।
सांसद् वैद्यले प्रधानमन्त्री ओलीले देश खान लागेकोले कोही नाथुराम गोड्से बन्न तयार हुनुपर्ने, अरु तयार नभए आफैँ बन्न तयार हुने अभिव्यक्ति दिएका थिए। नाथुराम गोड्से ती व्यक्ति हुन् जसले भारतमा महात्मा गान्धीलाई गोली हानेर हत्या गरेका थिए। ‘ओली यसरी आइरहेको छ कि आफ्नो सत्ता बचाउनका लागि, जे कुरामा पनि सम्झौता गरिराखेको छ। यो समयमा खड्ग ओलीलाई यसरी नै छोड्ने हो भने यो नेपाल खाइदिन्छ है,’बैठकमा बोल्दै वैद्यले भनेका छन्,‘त्यसैले मेरो आग्रह, कोही नाथुराम गोड्से आवश्यक पर्यो है, अब यो देश बचाउनका लागि। कोही नाथुराम गोड्से बन्न तयार छैन भने म बन्ने कि ?’
उनले दिएको अभिव्यक्तिको सामाजिक संजालमा समेत चर्को विरोध भएको छ। 




