काभ्रेभीर सडक खण्डमा पहिरोले ट्रक पुरियो।

मुस्ताङको जोमसोमबाट सामान पुर्याएर म्याग्दीतर्फ फर्किँदै गरेको ग १ क ३४९२ नम्बरको ट्रक दिउँसो करिव १ बजे समयमा सडक माथिबाट खसेको पहिरोले पुरिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
जिप्रका मुस्ताङका प्रहरी निरीक्षक आशिष अधिकारीका अनुसार जोमसोमबाट मालसामान पुर्याएर म्याग्दीतर्फ फर्किँदै गरेको मालवाहक ट्रक दिउँसो साढे १२ बजेपछि हिलाम्मे सडकमा फसेको थियो ।
हिलोमा फसेको ट्रक निकाल्न चालक र सहचालक उपकरणको खोजी गर्न जाँदा त्यसको १ घण्टापछि अचानक सडक माथिबाट खसेको पहिरोले ट्रकको पूरै भाग पुरिएर क्षत विक्षत भएको छ । प्रहरीका अनुसार ट्रक अझै पहिराले पुरिएकै अवस्थामा रहेको छ।
यस्तै, अविरल वर्षाका कारण आएको पहिरोले केहीदिन अघि अन्नपूर्ण गाउँपालिका—३ म्याग्दीको रुप्सेमा झरनामा २ दिनसम्म एक स्कार्पियो जीप फसेको थियो । तर २ दिनसम्म पहिरोले खसेको उक्त सवारी तेश्रो दिनमा पहिराले कालिगण्डकीमा बगाएको थियो ।
मुस्ताङमा गत आइतबारदेखि परेको अविरल वर्षाले काभ्रेभीर सडकमा १५ मिटर सडक भासिएको थियो । मौसममा केही सुधार आएकाले अहिले सडक सफा गर्ने कार्य भइरहेको बताइएको छ ।




