काठमाडौं । सरकारले कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने प्रक्रिया अगाडि बढाउने तयारी थालेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्राधिकारणको सुधार र जनताको चाहना अनुसार घिसिङलाई जिम्मेवारी दिने प्रक्रिया थाल्न मन्त्री भुसाललाई निर्देशन दिएका छन् । आवश्यक प्रक्रिया पुरा गरेर घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्न भुसाललाई निर्देशन दिएको देउवाको सचिवालयले जनाएको छ ।
घिसिङ नियुक्तिका लागि सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई राजीनामा दिन आग्रह समेत गरेको छ । मंगलबार प्रधानमन्त्री शेरबहादुर देउबाको उपस्थितिमा जलस्रोत, ऊर्जा तथा सिँचाइमन्त्री पम्फा भुसालले अहिलेसम्मको कार्यसम्पादन पनि सन्तोषजनक नभएकाले पदबाट हटेर सहयोग गर्न शाक्यसँग आग्रह गरेको स्रोतले जनाएको छ ।





