डाेटी, क्षितिज/ उषा मगर भन्छिन् ‘एउटै घरमा चाहिँ बस्दैनौ, महिनावारी भएको समयमा छिमेकीलाई छोइहाल्यो भने बाहिर भाथ्यो यसले छोयो हाम्रो देवीदेवता रिसायो भन्ने गरिन्छ।’
‘म त रजस्वला भएको बेला तीन-चार दिन बिरामी हुन्छु, धेरै रगत बग्छ अस्पताल बोकेर पनि लग्नुपर्छ। यसलाई छुनै हुँदैन भनेर कोहीपनि छुन आउँदैन’ कक्षा १० मा पढ्दै गरेकी विमला खत्री बताउँछिन्।
एक गृहणी भन्छिन् ‘सधैं गर्या कुरा मान्छेले नगर भन्दैमा एक्कासी कहाँ छाड्दाछन् , छोराबुहारी पछि जेपोगर्दछन् आफूले त अहिलेसम्म गरेको छैन।’
विमलाको बुवाले भने ‘सो इच्छाको कुरा हो हाम्रो त बाबुबाजेले मान्दै आएको मान्नेनै हो। बेग्लै छाउगोठ बनाएर राख्या छैन आफ्नै घरमा छुट्टै कोठामा राख्या हो।’
प्राय: बाह्रैमास तुवालोको घुम्टोले छोपी रहने र चिसो सिरेटोले स्पर्श गरिरहने सुदूरपश्चिमको गाउँ। प्राकृतिक सौन्दर्यले सजिएको। तराईतिर ४० डिग्री गर्मी हुँदा पनि चिसो सिरेटोको स्पर्श गरीरहन पाउने ठाउँ हो डोटी जिल्लाको जोरायल,गैरा।
५४१ घरधुरी भएको गाउँ डाँडा काँडाको साँगुरो बाटो हुँदै कैलालिको अत्तरियाबाट करिब तीन घण्टामा पुग्न सकिन्छ यो ठाउँमा।
यसरी प्रकृतिले सजिएको मनमोहक दृश्य भित्र लुकामारी गर्ने बस्तीभित्र लुकाएको प्रथा हो ‘आधुनिक छाउपडी प्रथा’ पहिले-पहिले छाउ गोठ घरबाट टाढा हुन्थे अहिले भने आफ्नै घरभित्र छाउप्रथालाई लुकाएको छ।
देवीदेवताले केही गर्ला कि भन्ने डर र त्रासले घर भित्रै लुकाएका छाउपडी प्रथा सर्वसाधारणदेखि जनप्रतिनिधिसम्मले आधुनिकताको नयाँ खोल भित्र लुकाईएको यो प्रथालाई आज सम्म पनि निरन्तरता दिइरहेको छ।
जोराएल गाउँपालिका वडा नम्बर १ का भजन सिंह मल्लले आफ्नै घरभित्र पनि श्रीमती बुहारी छोरी-चेलीहरु रजस्वला भएको समयमा भान्सा नछुने, घरमा अलग्गै बस्ने चलन भएको स्विकारे।
किन मानिन्छ छाउपडी प्रथा?
वडा अध्यक्ष मल्ल भन्छन् ‘देउता रिसाउँछन् , देउता लाग्छ यो प्रथा मानेपछि घरमा राम्रो हुन्छ दु:ख बिराम पर्दैन। छाउ नमानेपछि गाई भैँसीले दूध पनि दिन छाड्छन्।’
उनले पछिल्लो समय घरबाहिर छाउगोठमा राख्ने चलन हराउँदै गएको र घरभित्र छुट्टै ठाउँमा भने यो प्रथाले आश्रय पाउँदै आएको जनाए।
घरबाट टाढा छुट्टै छाउ गोठ बनाएर छुई हुनेलाई राख्दा विभिन्न प्रकारको समस्याहरु आइपरेको थियो। छाउगोठ भित्रै छोरी- चेलीहरु बलत्कृत हुने, सर्पले डस्ने, हत्या तथा पौष्टिक आहार को कमी बिरामी पर्दा वास्ता नहुने जस्ता समस्या पछिल्लो समयमा कमी आएको छ।
तर छाउपडी प्रथा परम्परादेखि चलिआएको कारण आफ्नै घरभित्र यो प्रथालाई आश्रय दिइरहेको छ।
यो प्रथाको पूर्णरुपमा निर्मुल हुनुपर्छ भनेर कुनै पनि उजुर अहिले सम्म नआएकोले कुनै पनि कानुनी कदम चाल्न नमिल्ने प्रहरी सायक निरीक्षक प्रेम सिंह भाट बताउँछन्।
‘कति गार्हो हुन्छ छुट्टै बस्नुपर्छ, त्यति वास्ता पनि परिवारबाट हुन्न, विद्यालय जान पनि मिल्दैन रजस्वला भएको समयमा।’ विमलाले सुनाइन्।
‘यो प्रथा राम्रो त होइन यसको पूर्ण रुपमा अन्त्य हुनुपर्दछ। म अलिकति पढेको बुझेको मान्छे अब यतातिर पहिलेदेखि मान्दै आएको चलन मान्नैपर्यो’ उनले थपिन्।
भिडियो सहित हेर्न यो लिङ्कमा क्लिक गर्नुहोस्।





