चितवन । जिल्लाको भरतपुर महानगरपालिकाको मतगण्ना स्थलमा फलामको बार हालिएको छ । २०७४ मा मतगणनाका क्रममा मतपत्र च्यातिएपछि यसपटक दलका प्रतिनिधि बस्ने ठाउँ छुट्टयाएर फलामको बार लगाइएको हो । २०७४ मा मतगणनाका क्रममा मतपत्र च्यातिएको विषय अझै पनि चर्चामा छ ।
आयोगले मतगणना स्थलमा अनिवार्य सीसी क्यामराको व्यवस्था गर्न निर्देशन पनि दिइसकेको छ । सोही अनुसार फलामको बारसहित सीसी क्यामेरा जडान गरिएकोे मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरका सूचना अधिकारी पुरूषोत्तम पौडेलले जानकारी दिए ।
स्थानीय तहको निर्वाचनका कारण यतिबेला देशकै ध्यान भरतपुर महानगरपालिकामा परेको छ । भरतपुरलाई दलहरुले प्रतिष्ठाको विषय नै बनाएका छन् । भरतपुर को मतगणना चितवन उद्योग संघको औद्योगिक प्रदर्शनी केन्द्रको ‘सी’ ब्लकमा हुनेछ ।
अकस्मात् विजुली गएको खण्डमा स्वचालित जेनेरेटरको समेत व्यवस्था गरिएको छ । २९ वटा वडा रहेको भरतपुर महानगरपालिकामा एक लाख ८५ हजार मतदाता रहेका छन् । यहाँ मतदानको लागि ६५ मतदानस्थल र २०२ वटा मतदान केन्द्र रहेका छन् ।





