काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनबाट फेरि ठूलो दलका नेता भएर प्रधानमन्त्री हुन एमाले अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिएका छन्। यसअघि ओलीलाई प्रधानमन्त्री माओवादीले बनाएको दाबी गर्दै प्रचण्डले अब एमालेको प्रधानमन्त्री बनेर देखाउन चुनौती दिएका हुन्।
२०७४ को सङ्घीय संसद्को निर्वाचनमा माओवादीले बोकेकै कारण एमाले ठूलो दल भएको र नेकपाको तर्फबाट ओली प्रधानमन्त्री भएको बताए। नेकपा हुँदा पाँचै वर्ष सरकार चलाउन अध्यक्ष ओलीलाई भनिएको र आफू पार्टी सञ्चालन गर्ने भन्दा अन्ततः त्यसमा ओलीले अरुचि देखाएको प्रचण्डको दाबी छ। यस्तै, उनले पाँच दलीय गठबन्धन कमजोर भए वा टुटेको अवस्थामा अझै पनि देश दुर्घटनामा जाने बताएका छन् ।
यस्तै प्रचण्डले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको फूलबारीमा फुलेका दुवै फूलरूपी काठमाडौं महानगरपालिका र धरान उपमहानगरपालिकाका मेयरलाई बधाई दिँदै काठमाडौं र धरानवासी मतदातालाई धन्यवाद ज्ञापन गरे।
उनले दुवै मेयरलाई जनताको भावना र आवश्यकताहरूलाई सम्बोधन गर्ने, दलहरूलाई समदूरीमा राख्दै सबैको सहयोग जुटाउन र शक्ति केन्द्रको प्रभावमा नपर्न सुझाव पनि दिएका छन्। संसद्मा प्रस्तुत सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि धारणा राख्दै प्रचण्डले दुई मेयर निर्वाचित हुनुलाई जनताले दलहरूलाई सच्चिन, कमीकमजोरी सुधार्न, आत्मआलोचना गर्न र उम्मेदवार छनोटमा ध्यान दिन सन्देश दिएको रूपमा बुझिनुपर्ने प्रचण्डको भनाइ छ।
उनले स्वतन्त्र उम्मेदवारहरूको निर्वाचनले दलहरूलाई चुनौती भन्दा पनि सावधानी अपनाउनतर्फ सचेत तुल्याएको बताए।
गठबन्धन संविधान बचाउन, लोकतन्त्र बचाउन र गणतन्त्रलाई बचाउन बनेको बताए। हाल कांग्रेस नेतृत्वमा पाँच दलीय र एमाले नेतृत्वमा नौं दलीय अर्को गठबन्धन रहेको प्रचण्डको भनाइ छ।





