सर्जन कुमार शाही, मुगु
मंसिर ४ मा भएको प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनमा मुगु जिल्लाबाट प्रमुख तीनवटै दलका जिल्ला प्रमुखहरु निर्वाचित भएका छन् ।
नेपाली कांग्रेसका पार्टी सभापति ऐनबहादुर शाही प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनी गत असोजमा कांग्रेसको ९ औं जिल्ला अधिवेशसनबाट पार्टी सभापतिमा निर्वाचित भएका हुन्। उनले ३ हजार ९ सय ९४ मतान्तरले एमालेका राजबहादुर कार्कीलाई पछि पार्दै प्रतिनिधिसभा सदस्यमा जित हात पारे। शाही १४ हजार ७ सय २ मत ल्याएर विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी कार्कीले १० हजार ७ सय ८ मत प्राप्त गरेका थिए ।
नेकपा एमालेका जिल्ला अध्यक्ष जीतबहादुर मल्ल पनि प्रदेश १ बाट प्रदेशसभा सदस्यमा विजयी भएका छन् । गत वर्ष उनी एमाले जिल्ला अधिवेशनबाट पार्टी अध्यक्षमा निर्वाचित भएका थिए । मल्ल ६ हजार ६ सय १८ मत प्राप्त गरि विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका गोपालबहादुर बमले ४ हजार ८ सय ८४ मत प्राप्त गरे ।
नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज मंगलबहादुर शाही प्रदेश २ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । शाही ८ हजार ४ सय २९ मत ल्याएर प्रदेशसभा सदस्यमा विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वदी नेकपा एमालेका कर्णबहादुर मल्लले ४ हजार ८ सय ८४ मत ल्याए ।
प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका शाहीले जिल्लाको शिक्षा, स्वास्थ्य र तथा पर्यटन बिकासमा जोड दिनुका साथै बाढी पहिरोबाट पीडित परिवारलाई राहतको निम्ति सरकारसँग पहल गर्ने बताए ।
जिल्लामा मतदान सम्पन्न भएको ६ दिनपछि आइतबार मुख्य निर्वाचनअधिकृतको कार्यालयबाट संघ र प्रदेशको मतपरिणाम घोषणा गरिएको थियो । जिल्लामा शान्तिपूर्ण र धाँधलीरहित निर्वाचन सम्पन्न गर्न पाउदा आफूलाई निकै खुसी लागेको निर्वाचनअधिकृत दिलकुमार बर्र्देवाले बताए । कुलमतदाता ३५ हजार ४ सय ८५ मध्ये २६ हजार ६ सय १५ मत खसेको थियो ।
मुगुमा २३ वर्षपछि प्रतिनिधिसभा सदस्यमा कांग्रेसले जितेक छ। २०४८ सालयता भएका संसदीय निर्वाचनको इतिहास हेर्दा २०४८ र २०५१ सालमा नेपाली कांग्रेसका हस्तबहादुर मल्ल, २०५६ सालमा एमालेका चन्द्र बहादुर शाही, २०६४ सालमा नेकपा माओवादी केन्द्रका नवराज धामी, २०७० मा एमालेका मोहन बानियाँ र २०७४ मा एमालेकै गोपालबहादुर बम निर्वाचित भएका थिए ।





