गत पुस १३ गते कास्की जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उद्घाटन सत्रमा खाली चौरमा भाषण गरेको विषयमा गण्डकी प्रदेश खेलकुद परिषद्ले जिल्ला खेलकुद विकास समिति कास्कीलाई स्पष्टीकरण सोधेको छ ।
जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको उक्त प्रतियोगिताको उद्घाटन सत्रमा गण्डकी प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशीला सिम्खडाले खाली चौरमा भाषण गर्दै गरेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
उक्त विषयमा मन्त्री सिम्खडाको अध्यक्षतामा रहेको गण्डकी प्रदेश खेलकुद परिषद्ले जिल्ला खेलकुद विकास समिति कास्कीलाई स्पष्टीकरण सोधेको हो । जिल्ला खेलकुद विकास समिति कास्कीका प्रमुख तोरण बानियाँले माघ १० मा प्रदेश खेलकुद परिषद्को स्पष्टीकरण पत्र प्राप्त गरेको जानकारी दिए ।
परिषद्ले कास्की र स्याङ्जाका जिल्ला खेलकुद विकास समितिलाई स्पष्टीकरण सोधेको हो । ‘उद्घाटन सत्रमा प्रमुख अतिथि नै बोल्नु अगाडि नै मार्च पासमा रहेका खेलाडीहरू त्यहाँबाट पठाइयो भन्ने विषयमा स्पष्टीकरण सोधिएको छ’, खेलकुद विकास समिति कास्कीका प्रमुख बानियाँले भने ।
खेलको प्राविधिक समितिले तोकेको समयअनुसार खेलाडीहरू खेल खेल्न गएको प्रमुख बानियाँले सुनाए ।
‘खेलाडीलाई हामीले पठाएको होइन । प्राविधिक समितिले तोकेको समयअनुसार खेलाडी आफैं गएका हुन् । भलिबल, कबड्डीदेखि धेरै खेलको मैदान छुट्टै छ । हामीले त्यति याद पनि गरेनौं । खेलाडीहरू प्राविधिकले भनेअनुसार खेल मैदानमा पुगे’, उनले भने ।





