दिल्लीमा अहिलेसम्मकै अत्यधिक गर्मी भएको छ । मौसम विभागका अनुसार बुधबार अपरान्ह राजधानी दिल्लीको अधिकतम तापक्रम ५२.३ डिग्री सेल्सियस पुगेको छ ।
अत्यधिक गर्मीले जनजीवन प्रभावित भएको छ । सडक तथा बजारहरुमा मानिसको चहल पहल धेरै घटेको छ । विभागका अनुसार अपरान्ह २ बजेर ३० मिनेटमा दिल्लीको मंगेशपुर क्षेत्रको तापक्रम रेकर्ड ५२.३ सेल्सियस देखिएको हो ।
यो अहिलेसम्म मापन गरिएको उच्च तापक्रम हो । राजधानीको अन्य क्षेत्रमा पनि ५० डिग्री सेल्सियस हाराहारीमा तापक्रम रेकर्ड भएको छ । पछिल्लो केही दिन यता दिल्लीको अधिकतम तापक्रम ४७ देखि ५० डिग्रीमा थियो । बढ्दो गर्मीले पानीको अभाव हुन थालेको छ ।
राज्य सरकारले सप्लाईको पानीबाट सवारी साधन धोएको पाइएमा कारबाहीको गरिने सूचना दिएको छ । विद्यालयहरुमा छुट्टी दिइएको छ । गर्मी बढेसँगै बिद्युतको माग पनि अत्यधिक बढेको छ । भारत भरीमा बिद्युतको माग २ सय ४० गिगावाट पुगेको छ । दिल्लीमा मात्रै बुधबार अपराह्न विद्युतको माग ८ हजार ३ सय २ मेगावाट देखिएको छ ।
दिल्लीबाहेक राजस्थान, मध्यप्रदेश, बिहार र उत्तरप्रदेश कयौं राज्य तथा सहरमा तापक्रम बढेको छ । मौसम विभागले पञ्जाब, हरियाणा, चण्डिगढ, दिल्ली, राजस्थान, उत्तरप्रदेश, मध्यप्रदेशका लागि रेड अलर्ट जारी गरेको छ । आगरा र झाँसीमा ४९ डिग्री सेल्सियस रेकर्ड गरिएको छ ।





