कृषि र सहकारी क्षेत्रको अध्ययन भ्रमण गराउनका लागि भनेर इजरेली विदेश मन्त्रालयको निम्तोमा उक्त देशको सेफायम पुगेका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले त्यहाँ आफूले अनौठो अनुभव गरेको बताएका छन्।
आइतवार बीबीसीसँग टेलिफोनमा कुराकानी गर्दै उनले भने, “म मरुभूमिमा खेति कसरी गरिन्छ भनेर हेर्न आएको थिएँ तर यस्तो परिस्थिति बनेर अहिलेसम्म हेर्न पाइएन।”
“म अहिले पनि बङ्करमा नै छु। यहाँ विभिन्न देशका अन्य प्रतिनिधिहरू पनि सँगै हुनुहुन्छ। म राजदूतज्यू र नेपालमा परराष्ट्रमन्त्रीज्यूसँग पनि निरन्तर सम्पर्कमा छु। अहिलेसम्म सुरक्षित छु।”
आफू १५/१६ जना अन्य देशका प्रतिनिधिसहित उक्त स्थानमा रहेको र अघिल्लो सोमवार त्यहाँ पुगेको उनले बताए।
उनले भने, “अहिले म एउटा सहकारीको भवनको होटलमा बसेको छु र साइरन बजेपछि यसैको बङ्करमा पस्नुपर्छ। यो मेरा लागि निकै अनौठो अनुभव भयो।”
“यस्तो मैले कहिल्यै अनुभव गरेको थिइनँ। मिसाइल हानेको र त्यसलाई इन्टरसेप्ट गरेको पनि देखियो। यो मेरा लागि निकै अनौठो कुरा हो।”
“हिजो अस्तिसम्म राति मात्र साइरन बज्थ्यो आज (आइतवार) चाहिँ दिउँसो पनि साइरन बजेर बङ्करमा पस्नु परेको छ। यहाँ साइरन बजेपछि डेढ मिनेटभित्र बङ्करमा पुग्नुपर्ने रहेछ अनि त्यसको १० मिनेटपछि निस्कन पाइने रहेछ।”
उनले आफूले त्यहाँस्थित नेपालीहरूसँग कुराकानी गर्न नपाएकाले अन्यको अवस्था के छ भन्ने थाहा नभएको बताए।
उनले आफूलाई अब ‘हवाई सेवा सुरु भएपछि मात्र फर्कन पाउने हो वा के हुने हो’ भन्ने थाहा नभएको बताए।
यद्यपि इजरेलस्थित नेपाली राजदूत धनप्रसाद पण्डितसँग स्थलमार्गबाट जोर्डन गएर नेपाल फर्कन सकिने विकल्पबारे पनि कुराकानी भइरहेको उनले बताए।
बिबिसी ।





