विशेष फिचर : काठमाडौ

नेपाली इसाई जगतको सबैभन्दा पुरानो र प्रतिष्ठित छाता संगठन ‘राष्ट्रिय मण्डली संगति नेपाल’ (NCF Nepal) को आसन्न महाधिवेशन नजिकिँदै गर्दा नेतृत्व हत्याउने होडबाजी तीव्र बनेको छ। सन् १९६० देखि नेपाली मण्डलीहरूलाई आध्यात्मिक तथा भौतिक रूपमा बलियो बनाउँदै एकता, संगति, सहकार्य र सुधारको जग बसालेको यो ऐतिहासिक संस्था अहिले आन्तरिक खिचातानी र पदीय स्वार्थको चपेटामा पर्न थालेको भन्दै मण्डलीका अगुवा तथा सर्वसाधारण विश्वासीहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्।

पछिल्लो समय विभिन्न पदका लागि दर्ता भएका उम्मेदवारी र पर्दापछाडिका राजनीतिक चलखेलले NCF Nepalको मूल मर्म र उद्देश्यमाथि नै प्रहार गरेको विश्लेषण हुन थालेको छ।

ऐतिहासिक उद्देश्य र वर्तमान विचलन

चुनावी गतिविधिले संस्थाको गरिमालाई धमिलो बनाएको मण्डलीहरू बताउँछन्। स्थापनाकालदेखि नै मण्डलीहरूबीच आपसी सम्बन्ध र एकता कायम गर्ने पवित्र उद्देश्य बोकेको NCF Nepal लाई पछिल्लो समय केही नेतृत्वका आकांक्षीहरूले व्यक्तिगत प्रतिष्ठा र ‘पेवा’ जस्तो बनाउन खोजेको आरोप लागेको छ।

अन्तर्राष्ट्रिय मिसनहरूबाट आउने सहायता, वैदेशिक सम्बन्ध र संस्थागत पहुँचको आडमा आफ्नो अनुकूलता मिलाउने र विभिन्न मिसनका नाममा स्वार्थ पूर्ति गर्ने दाउपेचमा केही पास्टर तथा अगुवाहरू लागेको कतिपयको बुझाइ छ। अधिवेशनलाई आध्यात्मिक नवीकरणको उत्सव बनाउनुको साटो राजनीतिक दाउपेचको अखडा बनाइँदा मण्डलीका अगुवाहरू नै आपसी विभाजनतर्फ धकेलिने खतरा बढेको छ।

उम्मेदवारको विवादित पृष्ठभूमि : फौजदारी अभियोगदेखि दलीय राजनीतिसम्म

आसन्न अधिवेशनका लागि चुनावी मैदानमा उत्रिएका कतिपय उम्मेदवारको विगत र वर्तमान पृष्ठभूमिले NCF Nepal को पवित्रतामाथि नै गम्भीर आशंका उब्जाएको सरोकारवालाहरू बताउँछन्। उम्मेदवारी दर्ता गराएका केही ‘वरिष्ठ’ व्यक्तिहरू नै विभिन्न गम्भीर विवाद र विचलनमा मुछिएको चर्च वृत्तमा चर्चा छ :

  •  फौजदारी अभियोग र नैतिक संकट : चुनावी दौडमा रहेका केही आकांक्षी विगतमा आर्थिक अपचलन, ठगी वा अन्य नैतिक आचरणसँग जोडिएका फौजदारी कसुर र कानुनी झमेलामा मुछिएका व्यक्ति हुन्। राज्यको कानुन र चर्चको आध्यात्मिक अनुशासन दुवैको नजरमा दोषी वा विवादित ठहरिएकाहरू नै पुनः संस्थाको सर्वोच्च नेतृत्व हत्याउन लालायित देखिनुले संस्थाको नैतिक धरातल खस्किँदै गएको संकेत गर्छ।
  •  संस्थालाई ‘लात’ हानेर फर्किएकाः केही उम्मेदवार त्यस्ता व्यक्ति पनि छन्, जसले विगतमा व्यक्तिगत स्वार्थ पूरा नहुँदा वा पद नपाउँदा NCF Nepalको विरुद्धमा गएर संस्थालाई ‘लात’ हानेका थिए र समानान्तर राष्ट्रिय ख्रीष्टियन महासंघ (FNCN) वा अन्य समूह खडा गर्न उद्यत थिए। आज तिनै व्यक्ति फेरि संस्थाको स्रोत, साधन र अन्तर्राष्ट्रिय पहुँचको लोभमा ‘यू-टर्न’ भई उम्मेदवार बन्न आइपुगेको छ। यसलाई कतिपयले चरम अवसरवादको संज्ञा दिएका छन्।
  • दलीय राजनीतिको दाग र एजेन्डा : NCF Nepalजस्तो विशुद्ध आध्यात्मिक र तटस्थ छाता संगठनको नेतृत्व गर्न खोज्ने कतिपय व्यक्ति नेपालका मूलधारे राजनीतिक दलका सक्रिय कार्यकर्ता वा दलीय एजेन्डा बोक्ने झोलेको रूपमा बदनाम छन्। दलको आडमा चर्चमा राजनीति भित्र्याउने र इसाई समुदायको मतलाई राजनीतिक दलसँग सौदाबाजी गर्ने दाग लागेका उनीहरूको उपस्थितिले संस्थालाई ‘राजनीतिक अखडा’ बनाउने प्रयास भएको छ।

संस्थागत संकटका मुख्य प्रवृत्तिहरू

  • पवित्र मञ्चमा राजनीतिक संस्कारको प्रवेश : निर्वाचन जित्न स्वस्थ प्रतिस्पर्धाभन्दा गुटबन्दी, आन्तरिक लबिइङ र मण्डलीका पास्टरलाई प्रभाव पार्ने प्रयास तीव्र भएका छन्। आध्यात्मिक गुण र सेवाको भावनाभन्दा ‘नेतृत्वको पद’ नै सर्वोपरी ठान्ने प्रवृत्ति हावी देखिन्छ।
  •  वैदेशिक स्रोत र मिसनमा आँखा : अन्तर्राष्ट्रिय सम्बन्ध र मिसनलाई संस्थाको हितमा नभई आफ्नो व्यक्तिगत पहुँचभित्र राख्न चुनावी चलखेल भइरहेको विश्वासीहरूको गुनासो छ।
  •  नैतिक र आध्यात्मिक स्खलन : विगतमा विवादमा मुछिएका वा नैतिक प्रश्न उठेका व्यक्ति नेतृत्वको दौडमा अग्रपङ्क्तिमा देखिनुले संस्थाको निष्पक्षता र पवित्रतामाथि गम्भीर प्रश्नचिह्न लगाएको छ।

एकातिर राज्यको प्रतिकूल नीति, अर्कोतिर आन्तरिक फुट

नेपाली इसाई समुदायले यतिबेला दोहोरो चुनौती सामना गरिरहेको छ। राज्यका कतिपय नीति, नियम र कानुन ख्रीष्टियन समुदायको अधिकार र धार्मिक स्वतन्त्रताको विरुद्धमा संकुचित बन्दै गएका छन्। धर्म परिवर्तनसम्बन्धी कडा कानुन, संस्था दर्ता तथा नवीकरणका जटिलता र सामाजिक रूपमा बढ्दो अविश्वासविरुद्ध सबै चर्च एक भएर लड्नुपर्ने बेला आएको छ।

यस्तो संवेदनशील घडीमा समुदायको नेतृत्व गर्ने मुख्य छाता संगठन नै आन्तरिक स्वार्थ र पदलोभीका कारण विभाजित हुनु आत्मघाती हुने विज्ञहरू बताउँछन्।

एक मण्डली अगुवा भन्छन् : “यदि नेपाली चर्च र अगुवाले समयमै यो चलाखी र स्वार्थी प्रवृत्ति पहिचान गरेर सही नेतृत्व चयन गर्न सकेनन् भने, गम्भीर र नकारात्मक परिणाम आउने पुस्ताले भोग्नुपर्ने बाध्यता सिर्जना हुनेछ।”

निष्कर्ष : अबको बाटो के ?

NCF Nepal कुनै व्यक्तिको निजी कम्पनी वा राजनीतिक दल होइन। यो हजारौँ विश्वासीको प्रार्थना, आँसु र समर्पणबाट बनेको पवित्र संस्था हो। त्यसैले आसन्न अधिवेशनमा मतदान गर्ने प्रतिनिधि (डेलिगेट) हरूले कुनै प्रलोभन, गुटबन्दी वा झूटा आश्वासनमा नपरी संस्थाको मूल उद्देश्यलाई जीवित राख्न सक्ने निस्वार्थी, नैतिक र आध्यात्मिक नेतृत्व चयन गर्न जरुरी छ। समयमै चेत नखुल्दा संस्थाको पहिचान मात्र मेटिने छैन, बरु समग्र नेपाली चर्चको भविष्य नै संकटमा पर्ने निश्चित छ।

नोट: लेखकले आफ्नो परिचय खुलाउन नमिल्ने जनाएकोले यो फिचरको लेख अज्ञात हुन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here