सन् १९६० (वि.सं. २०१७) को दशकको कठोर प्रतिबन्ध र सरकारी दमनबीच नेपाली इसाईहरूले आफ्नो अस्तित्व बचाउन, एकअर्कालाई ढाडस दिन र लुकेरै भए पनि आफ्नो जग बलियो बनाउन राष्ट्रिय मण्डली संगति ( NCF ) हाल NCFN) को जन्म भएको थियो। चुनौतीपूर्ण त्यस कालखण्डमा राजा महेन्द्रको सरकारले इसाई समुदायलाई कानुनी दायरामा ल्याई कठोर यातना दिइरहेको बेला एउटा पवित्र दूरदृष्टि र आत्मिक आवश्यकताबाट ‘राष्ट्रिय मण्डली संगति नेपाल’ (NCFN) को जन्म भयो। आज संस्था आफ्नो स्थापनाको ६५औँ वर्षमा प्रवेश गर्दैछ। यो ६५ वर्षे यात्रा केवल एउटा संस्थाको इतिहास मात्र होइन, यो नेपाली इसाई समुदायको पहिचान, अस्तित्व र नेपाली समाजको रूपान्तरणमा पुर्याएको अतुलनीय योगदानको जीवित दस्तावेज हो।

विगत ६ दशकभन्दा बढी समयदेखि यस संस्थाले देशका कुना–कुनामा छरिएका मण्डलीहरूलाई आत्मिक तथा भौतिक रूपमा एकताबद्ध गराउने, आपसी सम्बन्ध, संगति, सहकार्य र सुधारको जग बसाल्ने काममा अभिभावकको भूमिका निर्वाह गर्दै आएको छ।

योगदानको कदर र संस्थाको पुनरुत्थान : हाम्रो साझा जिम्मेवारी

कुनै पनि जीवित संस्थामा समयसँगै चुनौती र कमजोरी देखिनु स्वाभाविक हो। तर, ती कमजोरीलाई देखाएर संस्थाको ऐतिहासिक योगदानलाई बेवास्ता गर्नु वा यसलाई शिथिलतातर्फ धकेल्नु हाम्रो सामूहिक बुद्धिमानी होइन। बरु, यतिबेला संस्थालाई अझ सुदृढ, पारदर्शी र समयसापेक्ष बनाउँदै यसको मूल दर्शन (Core Vision) मा फर्काउनु हामी सबैको कर्तव्य हो।

एकातिर राज्यका नीति र कानूनी परिदृश्य चुनौतीपूर्ण बन्दै गइरहेका छन् भने अर्कोतिर सामाजिक रूपमा इसाई समुदायले आफ्नो प्रामाणिकता र सेवाको भावनालाई स्पष्टसँग प्रस्तुत गर्नुपर्ने आवश्यकता छ। यस्तो संवेदनशील घडीमा संस्थाभित्र नकारात्मकतालाई होइन, सुधारवादी सोच, रचनात्मक विश्लेषण र आत्मिक एकतालाई प्रश्रय दिनु आवश्यक छ। संस्थाको गरिमा बचाउनु भनेको हाम्रा पूर्वजहरूको प्रार्थना, आँसु र समर्पणको आदर गर्नु हो।

नेतृत्व चयन र सुधारका लागि बाइबलीय आदर्श तथा उदाहरण

हाम्रा अगाडि जुनसुकै संगठनात्मक चुनौती आए पनि हामीलाई सही मार्गनिर्देशन गर्न परमेश्वरको जीवित वचन—बाइबल नै पर्याप्त छ। बाइबलले संस्थागत संकटबाट कसरी बाहिर निस्कने र कस्तो नेतृत्व चयन गर्ने भन्ने उत्कृष्ट उदाहरण दिएको छ:

नहेम्याहको उदाहरण : भत्केका पर्खालको पुनर्निर्माण

जब नहेम्याहले यरूशलेमको पर्खाल भत्केको र ढोका जलेको खबर पाए, उनले अरूलाई दोष लगाएनन् न त निराशा फैलाए। उनले उपवास र प्रार्थनासहित स्पष्ट योजना अगाडि सारे। नहेम्याह २:१७ मा उनले भने, “तिमीहरू देख्दछौ हामी कस्तो संकटमा छौं… आओ, यरूशलेमको पर्खाल हामी फेरि बनाऔं, र हाम्रो यो बदनामी हटोस्।”

सन्देश : आज NCFN को गरिमा र मूल्यमान्यताका पर्खालहरू भत्केका छन् भने, हामीले पनि ‘पुनर्निर्माण’ को सोच राख्नुपर्छ। दोषारोपणभन्दा माथि उठेर सुधारको काममा जुट्नुपर्छ।

 मोशा र यित्रोको सल्लाह : चरित्रवान् नेतृत्व चयन

मोशा एक्लैले सबै इस्राएलीको न्याय र व्यवस्थापन गर्दा थाकेपछि उनका ससुरा यित्रोले सुधारात्मक सल्लाह दिए। प्रस्थान १८:२१ मा भनिएको छ, “सबै मानिसहरूमध्येबाट तिमीले योग्य मानिसहरू छान, अर्थात् परमेश्वरको भय मान्ने, भरोसायोग्य र अन्यायपूर्ण नाफालाई घृणा गर्ने मानिसहरू।”

सन्देश : बाइबलले नेतृत्वका लागि प्राविधिक चतुरता वा पदको भोक होइन, ‘परमेश्वरको भय मान्ने र निष्कलंक चरित्र भएका’ व्यक्तिलाई योग्य ठहराउँछ। आसन्न अधिवेशनमा प्रतिनिधिहरूले यही बाइबलीय मापदण्डलाई मुख्य मानेर नेतृत्व चयन गर्नुपर्छ।

 प्रेरित ६ को उदाहरण : विवादको आत्मिक र व्यावहारिक समाधान

प्रारम्भिक मण्डलीमा स्रोत–साधनको वितरणलाई लिएर विवाद चुलिएपछि प्रेरितहरूले प्रेरित ६:३ अनुसार कदम चाले : “यसकारण दाजुभाइ हो, आफैंमध्येबाट पवित्र आत्मा र बुद्धिले पूर्ण भएका, समाजमा सुनाम भएका सात जना मानिसहरू छान।”

सन्देश : संस्थाभित्रका मतभेदलाई राजनीतिक अखडा नबनाई ‘सुनाम भएका र बुद्धिले पूर्ण’ अगुवालाई जिम्मेवारी सुम्पेर समाधान गर्नुपर्छ।

अबको बाटो : मूल दर्शन, लक्ष्य र मूल्यमान्यताको प्रवर्द्धन

NCFN लाई अस्वस्थ प्रतिस्पर्धाबाट जोगाई प्रभुको महिमाको केन्द्र बनाउन हामीले निम्न सुधारात्मक कदममा जोड दिनुपर्छ :

  • पहिलो प्रेम र उद्देश्यमा फर्कने : सन् १९६० को त्यो पवित्र उद्देश्य—मण्डलीहरूबीचको सम्बन्ध, संगति र सहकार्यलाई पुनः जागृत गर्नुपर्छ। संस्था पद वा प्रतिष्ठाको माध्यम होइन, यो ‘सेवाको मञ्च’ (Servant Leadership) हो भन्ने भावना सबैमा हुनुपर्छ।
  • सचेत र विवेकपूर्ण छनोट : महाधिवेशनका प्रत्येक प्रतिनिधिले गुटबन्दी, चतुरता वा व्यक्तिगत प्रभावभन्दा माथि उठी प्रार्थनापूर्वक संस्थाको हित र आउने पुस्ताको भविष्यलाई केन्द्रमा राखी मत प्रयोग गर्नुपर्छ।
  • ·एकता र मेलमिलापको सन्देश : ख्रीष्टियन समुदायको मुख्य जग प्रेम र एकता हो। आन्तरिक विमतिलाई संवाद, प्रार्थना र बाइबलीय अनुशासनभित्र रहेर सुल्झाउँदै संसारको सामु अनुकरणीय गवाही प्रस्तुत गर्नुपर्छ।

अन्त्यमा, NCFN केवल एउटा कानुनी संरचना मात्र होइन, यो नेपाली इसाई इतिहासको धरोहर हो। यसलाई धमिल्याउने होइन, यसको मूल दर्शन, मिसन, लक्ष्य र मूल्यमान्यतालाई आत्मसात गर्दै अघि बढ्नुमा नै हाम्रो सामूहिक विजय छ। हामी सबै मिलेर संस्थाको ऐतिहासिक गरिमालाई बचाउँदै, प्रभुको महिमा गर्ने कार्यमा एकताबद्ध भई अगाडि बढौं। आउने पुस्ताले गर्व गर्ने गरी NCFN निर्माण गर्नु नै आजको मुख्य आवश्यकता हो। 

लेखक : किशोर बहादुर शाही (सल्लाहकार, केन्द्रिय युवा विभाग) NCFN

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here