बेमौसमी झरिमा मनको एंठेन

आजको दिन मेरो लागि एक अजीबै ऐठन बनिएको थियो। मेरो नै शरीरले मलाई किन यसरी च्यापिरहेको थियो? मेरो छातीभित्र कुनै ज्वालामुखी जस्तै जलन चलिरहेको थियो। मेरो मन अझै पनि कहिँ-न-कहिँ भावुक भइरहेको थियो, झन्झनाउँदै, धड्कनले हामफाल्दै। बाहिर झिमझिम पानी परिरहेको थियो। टाढाटाढा कुकुरहरु आफ्नै गतिमा आवाज निकालिरहेका थिए । मनले पानी पिउने इच्छा गर्नथाल्यो, तर पानीको गिलास आउँदा, हात कसरी उठाउँछ भन्ने पनि बिर्सिएको जस्तो लाग्यो।
केही बेरसम्म म समय नै बिर्सें। मोबाइल कता रहेछ? होस् नै गएको थियो मलाई। आज मलाई भएको चाहिँ के हो? मलाई आफैँलाई थाहा थिएन। कोठामा खोज्दाखोज्दै तल पार्किङमा, आफ्नै बाइकको सिटमा मोबाइल रहेको देखें। लगातार दुई दिन देखिको यो बेमौसमी झरीले मेरो मनको छटपटाइलाई किन यसरी बढाइरहेको थियो? मोबाइलमा हेरेँ— १ बजेर ६ मिनेट ४६ सेकेन्ड। अब के गरूँ? मनले भन्यो, “बाहिर निस्क.” तर बाहिर झिमझिम पानी परिरहेको थियो, रातको अँध्यारोमा। के यो सहरको रात, यो सडकले मेरो उदास मनलाई आश्वासन दिन सक्छ? मनले फेरि भन्यो, “जे होस्, निस्क।”
आज फरक तरिकाले निस्किएँ। पाँच बजेपछि निस्कने ठानें। समय बित्यो, म भुनभुनाउँदै रहें। मेरो भुनभुनाइ सुन्ने, बुझ्ने कोही थिएन। भित्ताहरूले बुझ्थे, तर जवाफ दिन सक्दैनथे। साढे चार बज्यो, निस्किएँ। कानमा इयरफोन लगाएर, एकान्तताको खोजीमा चल्दै। गन्तव्य कुनो? थाहा थिएन। मन कहाँ रोकिन्छ? पनि थाहा थिएन।
ललितपुरको भैसपाटीबाट एकान्तकुनातिर लागें। मानिसहरू हिँडिरहेका थिए, झिमझिम पानी परिरहेको थियो, छाता ओडिरहेका थिए। म आफ्नै धुनमा बसे। कसको स्मृतिले यति व्यथित बनाइरहेको थियो, मलाई थाहा थिएन। एकान्तकुनामा पुगेपछि पनि मनलाई सान्त्वना लागेन। चिडियाखानाको वरिपरिको वातावरणतिर लागें, जहाँ मेरो मनलाई शान्ति लाग्छ, जहाँ मेरा शब्दहरू फुट्छन्, जहाँ म आफैँको एउटा छुट्टै संसारमा बस्छु। किन? थाहा थिएन।
चिडियाखानाको वरिपरि बसेको थिएँ। साढे छ बजेको थियो। एउटा जोडी कलेज जाँदैछन, रिसाएर, दुखित मनले। उनीहरू मेरो नजिकैबाट गए, रुँदै। उनीहरूको मनमा पनि कुनै पीडा थियो होला। म आफ्नै एकान्ततामा डुबेको थिएँ। उनीहरूको पीडाले मेरो आत्मालाई छोयो। म प्रेमको विज्ञ भएको अनुभूति भयो। यो वैराग्य, यो उदासी, के खोजिरहेको छ मेरो मन?
साढे सात बज्यो। नजिकैको कफी शपमा गएँ। एउटा चुस्की कफीसँगै आफ्नो व्यथित मनलाई डायरीमा टिप्न थालेँ। लगनखेलतिर दगुरें। बसपार्क नजिकै पुग्दा मेरो नजर एक अन्जान युवतीको आँखामा पर्यो। उनको आँखाहरूमा मैले आफ्नो पागलपन, आफ्नो उदासीनताको उपचार खोजें। उनको हेराइले मलाई औषधि जस्तो लाग्यो। उनी तरकारी किनिरहेकी थिइन्। म एकाग्र भएर हेरिरहेको थिएँ। मेरो मनले भन्यो, “यही नै हो, यही नै मेरो दिलको दवाई हो।”
उनी पाटनतर्फ लागिन्। म उनको पछि पछि लागें। उनले देखिन्, वा नदेखिन्, म कानमा इयरफोन लगाएर आफ्नै संसारमा हिँडिरहेको थिएँ। उनी एक अपार्टमेन्टमा प्रवेश गरिन्, ठूलो घरानाकी छोरी जस्तै। मेरो हृदयले चीत्कार गर्यो— “यो दिललाई धोका दिएर गईन्।”
शङ्खमूलतर्फ लागें। युएन पार्कको छहारीमा बसेर डायरीमा केही हरफहरू लेखें। उनको आँखाले दिएको घाउ, त्यसको मलहम पनि उनकै आँखाहरूमा छ जस्तो लाग्यो। चार बजिसक्यो। आज मैले खाना खाएको थिइनँ, केवल लस्सी र दुईवटा चाउचाउ। यो बेमौसमी झरीले मलाई एउटा ठूलो उपहार दिएको जस्तो लाग्यो। म खुसी भएर आफ्नो बाटोतर्फ लागें। तर, आजपछि, त्यही सडक, त्यही गल्लीमा, उनको त्यो जादुई आँखा फेरि कहिल्यै भेटिनन्…।
लेखक : शंकर आचार्य / बिरेन्द्रनगर,सुर्खेत
