सर्जन कुमार शाही

मुगु- मुगुमा सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रचण्ड शाखाका कर्मचारीले ९८ जना बचतकर्ताको नाममा कीर्ते कागजात तयार गरी करिब १ करोड ३० लाख ७६ हजार रुपैयाँ हिनामिना गरेको आरोप लागेको छ।

खत्याड गाउँपालिका–४ स्थित प्रचण्ड शाखामा आबद्ध ५६ वटा महिला समूहका ७ सय ११ सदस्यमध्ये ९८ जनाको नाममा आफूहरूले ऋण नलिएको भए पनि ऋण प्रवाह भएको देखाइएको तथा व्यक्तिगत र मुद्दति खातामा जम्मा भएको बचत रकमसमेत अनियमितता भएको पीडित बचतकर्ताहरूले आरोप लगाएका छन्।

पीडितका अनुसार कतिपय व्यक्तिको नाममा ऋण देखाएर किस्ता तिरेको विवरणसमेत तयार गरिएको छ। खत्याड–४ हिगोटीकी रिसु विकको नाममा एक लाख रुपैयाँ ऋण देखाइएको भए पनि उनका श्रीमान् परेक विकले आफूहरूले कुनै ऋण नलिएको बताएका छन्।

त्यस्तै, खत्याड–४ कै झुप्पा सार्कीको नाममा छोराको श्रीमतीको नाता कायम गरी १ लाख ५० हजार रुपैयाँ ऋण लिएको देखिने कागजात भेटिएको पीडित परिवारको दाबी छ। सदस्य नै नभएकी चिनकला सार्कीको नाममा समेत एक लाख रुपैयाँ ऋण देखाइएको परिवारले जनाएको छ।

पीडितहरूले ऋणमा मात्रै नभई व्यक्तिगत तथा मुद्दति खाताको रकमसमेत कीर्ते कागजात बनाएर झिकिएको आरोप लगाएका छन्। दुर्गा बानियाँ रोकायाको २ लाख रुपैयाँ मुद्दति बचत र बिउरा बानियाको १ लाख ५० हजार रुपैयाँ बचत अनियमितता भएको उनीहरूको दाबी छ।

यस घटनाबारे नागेन्द्र आचार्यको जाहेरीका आधारमा प्रचण्ड शाखामा कार्यरत कर्मचारी गणेश चौलागाईं, तुलसी शाही र टीकाप्रसाद जैसीविरुद्ध बैंकिङ कसुर तथा सजायसम्बन्धी मुद्दा उच्च अदालत सुर्खेतमा दर्ता भएको छ। मुद्दा २०८३ जेठ १९ गते दर्ता भएको उच्च अदालत सुर्खेतका निमित्त श्रेस्तेदार प्रेमप्रकाश थापाले जानकारी दिए।

मुद्दा विचाराधीन रहेकाले उच्च अदालत सुर्खेतले जिल्ला अदालत मुगुसँग समन्वय गरी पीडितहरूको बयान तथा बकपत्र श्रव्यदृश्य माध्यमबाट लिने व्यवस्था गरेको छ। आरोपित तीनै जनालाई धरौटीमा तारेखमा राख्ने आदेश भएको अदालतले जनाएको छ।

पीडितहरूले अनुसन्धान र अदालतको प्रक्रियामा सहभागी हुन सदरमुकाम तथा सुर्खेतसम्म पुग्नुपर्दा थप आर्थिक भार परेको बताएका छन्। जिल्ला अदालत मुगुबाटै श्रव्यदृश्य माध्यममार्फत बकपत्र लिने व्यवस्था भएपछि भने केही राहत मिलेको उनीहरूको भनाइ छ।

मुद्दा अदालतमा विचाराधीन रहेकाले आरोपको अन्तिम पुष्टि भने अदालतको फैसलापछि हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here