बर्दिया – इसाई समाज बर्दियाका अध्यक्ष मोहन सिंह खत्री ज्यु को नेतृत्वमा इसाई समाज बर्दियाले भोटेकोसी मा आएको भीषण बाढीका कारण प्रभावित बनेका रसुवाका बाढीपीडितहरूको सहयोगार्थ चार लाख बीस हजार पाँच सय राहत रकम प्रदान गरेको छ।
बर्दिया जिल्लाका सम्पूर्ण पालिका तथा प्रत्येक एरिया इसाई समाजहरूबाट आर्थिक सहयोग संकलन गरी उक्त रकम जुटाइएको हो। जिल्लाका सबै पालिका र एरिया इसाई समाज मातहतका मण्डली एवम् इसाई समुदायको सामूहिक पहलमा संकलित यो रकम आज प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा जम्मा गरिएको छ।

सो रकम बैंकमा जम्मा गरिएको भौचर इसाई समाज बर्दियाका प्रतिनिधिहरूले बर्दियाका प्रमुख जिल्ला अधिकारी (CDO) गोगन हमाल ज्यु समक्ष हस्तान्तरण गरेका छन्। विपद्को घडीमा रसुवाका बाढीपीडित नागरिकहरूको राहत तथा पुनर्स्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले जिल्लाभरिका पालिका तथा एरिया इसाई समाजहरू एकजुट भई योगदान गरेको समाजले जनाएको छ।
राहत भौचर ग्रहण गर्दै प्रमुख जिल्ला अधिकारी गोगन हमाल ज्युले प्राकृतिक विपद्को समयमा मानवीय सेवाका लागि बर्दियाका इसाई समुदाय तथा एरिया इसाई समाजले देखाएको यो सक्रियता र सहकार्यको प्रशंसा गर्नुभयो।





