सर्जन कुमार शाही
मुगु १६ कार्तिक
जिल्लाको पश्चिम क्षेत्रमा पर्ने खत्याड गाउँपालिकास्थित झुगला–रारा–गमगढी सडकखण्ड पाँच सातादेखि अवरुद्ध हुँदा स्थानीयवासी तथा यात्रुले सास्ती खेप्नुपरेको छ। खत्याड गाउँपालिका– ८, नुवाखेतमा लगातार सुक्खा पहिरो खस्न थालेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको हो।

पहिरोका कारण सडक यातायात पूर्ण रूपमा ठप्प भएको छ। सडक अवरुद्ध हुँदा खत्याड गाउँपालिकाका ११ वटै वडाका स्थानीयवासीलाई आवतजावतमा समस्या भएको छ। त्यस्तै, रारा जाने आन्तरिक तथा बाह्य पर्यटक र जुम्लाको गोठीज्युला जाने यात्रुसमेत प्रभावित भएका छन्।
सडक अवरुद्ध हुँदा जिल्ला सदरमुकाम, गाउँपालिका केन्द्र, इलाका प्रशासन कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था तथा बर्थिङ सेन्टरमा सेवा लिन जाने नागरिकलाई समेत कठिनाइ भएको स्थानीयको गुनासो छ। विशेषगरी महिला, बालबालिका, ज्येष्ठ नागरिक, बिरामी, विद्यार्थी तथा अशक्त व्यक्तिहरू बढी प्रभावित भएका छन्।


पहिरोका कारण सडकसँगै सिँचाइ कुलो, झोलुंगे पुल, खानेपानीका संरचना, स्थानीय तथा पशुचौपाया हिँड्ने गोरेटो बाटो र ठुलो क्षेत्रफलको खेतीयोग्य जमिनमा क्षति पुगेको छ। आसपासका घरबस्तीसमेत जोखिममा परेपछि स्थानीय त्रासमा छन्।
सडक अवरुद्ध हुनुअघि करिब पाँच मिनेटमा पुगिने दूरी पार गर्न अहिले आधा घण्टाभन्दा बढी कठिन उकालो बाटो हिँडेर पुनः १५ देखि २० मिनेट ओरालो झर्नुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन्।
कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले गत कात्तिक ९ गते पहिरो प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेका थिए। उनले तत्काल सडक सञ्चालनका लागि पहल गर्ने र दीर्घकालीन समाधान खोज्न भूगर्भविद्सहितको प्राविधिक अध्ययन वा अन्य उपयुक्त विकल्पबारे छलफल अघि बढाउने प्रतिबद्धता जनाएका थिए।

पहिरो नियन्त्रणका लागि स्थानीयले आफ्नै पहलमा माथिल्लो क्षेत्रमा पानी पठाउन पाइपमार्फत पानीसमेत छोडेका छन्। तर, सडक खुलाउने प्रयासले अहिलेसम्म सार्थकता पाउन सकेको छैन।
खत्याड गाउँपालिका– ८, आमगाउँका स्थानीय सम्पत्ति कार्कीका अनुसार पहिरोले तलपट्टिका तीन–चार गाउँको खेतीयोग्य जमिन र सिँचाइ कुलो पूर्ण रूपमा क्षति पुर्याएको छ।
‘पहिरोले कुलोको नामोनिसान नै मेटाएको छ। अब कुलो पुनर्निर्माण गर्ने अवस्था पनि छैन। लगभग पूरै पालिकालाई खाद्यान्न उपलब्ध गराउने आमजिउलाको खेतीयोग्य जमिन बाँझो हुने अवस्थामा पुगेको छ,’ उनले भने।

खेतीपातीको समय नजिकिँदै गर्दा सिँचाइको व्यवस्था नहुँदा किसान थप चिन्तित बनेका छन्। स्थानीय देवीलाल कार्कीले गहुँ छर्ने समय आइसक्दा पनि खेतमा सिँचाइ पुर्याउने कुलो र आवतजावत गर्ने बाटो दुवै क्षतिग्रस्त रहेको बताए।
अब गहुँ छर्ने समय आयो, तर कुलो बनाउने अवस्था छैन। आवतजावत गर्ने बाटोसमेत छैन। धेरैको खेतीयोग्य जमिन पहिरोले पुरिएको छ। झोलुंगे पुलसमेत एकतर्फी रूपमा पूर्ण क्षति भएकाले हिँड्नै नमिल्ने भएको छ,’ उनले भने।

सडक खुलाउन तथा पहिरोको दीर्घकालीन समाधान खोज्न आइतबार  खत्याड गाउँपालिका–६, ८ र ११ का वडाध्यक्ष, गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत, स्थानीयवासी तथा सरोकारवालाको सहभागितामा छलफल भएको थियो। छलफलबाट अवरुद्ध सडक खुलाउन निर्माण समिति गठन गरी तत्काल सडक सञ्चालन तथा दीर्घकालीन समाधानका लागि पूर्वाधार विकास कार्यालय मुगुसमक्ष अनुरोध गरिएको छ।
पूर्वाधार विकास कार्यालय मुगुका प्रमुख सुशील आचार्यले पहिरो प्रभावित क्षेत्रमा प्राविधिक टोली पठाएर तत्काल सडक खुलाउने र दीर्घकालीन समाधानका उपाय पहिचान गर्ने बताए।

उक्त पहिरोको अवस्था अध्ययन गर्न प्राविधिक टोली पठाउँछौँ। पहिरोको प्रकृति हेरेर तत्काल सडक खुलाउने तथा दीर्घकालीन समाधानका लागि आवश्यक प्रक्रिया अगाडि बढाउँछौँ,’ उनले भने।
खत्याड–रारा–गमगढी सडकखण्डको महत्त्वपूर्ण प्रवेश मार्गमै पहिरो खसेर लामो समयदेखि यातायात अवरुद्ध हुँदा स्थानीय जनजीवन, कृषि उत्पादन र पर्यटन क्षेत्रमा समेत असर परेको छ। स्थानीयवासीले सडक तत्काल सञ्चालनमा ल्याउन र भविष्यमा यस्तो समस्या दोहोरिन नदिन दीर्घकालीन समाधान गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here