मुगुमा ६१ वर्षीय केशरबहादुर मल्ल मृत अवस्थामा फेला
सर्जन कुमार शाही – मुगु
मुगु — मुगुको छायाँनाथ रारा नगरपालिका–३ स्थित हेर्निकाँधमा एक जना ६१ वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार छायाँनाथ रारा नगरपालिका–२ निवासी ६१ वर्षीय केशरबहादुर मल्ल गोरु चराउन जाने क्रममा बेपत्ता भएका थिए। उनीसँगै छायाँनाथ रारा नगरपालिका–५ निवासी ३१ वर्षीय निराजन बुढा पनि गोरु चराउन गएका थिए। बुढा सोही दिन साँझ घर फर्किए पनि मल्ल भने घर नफर्किएपछि आफन्तले खोजी गरेका थिए।
मल्ल सम्पर्कविहीन रहेको भन्दै आफन्तले मिति २०८३ कात्तिक ३ गते दिउँसो ३ बजे जिल्ला प्रहरी कार्यालय मुगुमा जानकारी गराएका थिए। जानकारी प्राप्त भएपछि प्रहरी नायब उपरीक्षक रविराज थपलियाको कमान्डमा १५ जनाको प्रहरी टोली खोजतलासका लागि घटनास्थलतर्फ खटिएको थियो।
प्रहरी टोलीले सोही दिन दिउँसो ४ बजेर २० मिनेटमा गोरेटो बाटोबाट करिब ७०० मिटर तल रहेको खोल्सामा मल्ललाई मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ।
घटनामा मल्लसँगै गएका निराजन बुढालाई जिल्ला प्रहरी कार्यालय मुगुमा ल्याई सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।
घटनाको विस्तृत विवरण तथा मृत्युको कारणबारे थप जानकारी आउन बाँकी रहेको छ। घटनास्थल जिल्ला प्रहरी कार्यालय मुगुबाट करिब ७ किलोमिटर उत्तरमा पर्ने जनाइएको छ ।





