अस्पतालमा भाैतिक आक्रमण बढेपछि, चिकित्सक संघको चेतावनी।

नेपाल चिकित्सक संघले सरकारलाई सात दिनभित्र अध्यादेश मार्फत कानुन ल्याउन अनुरोध गरेको छ।
आइतबार संघका महासचिव डा. बद्री रिजालले एक विज्ञप्ति जारी गर्दै सात दिन देशभरका चिकित्सक वा स्वास्थ्यकर्मीलाई सुरक्षा प्रत्याभूति हुने अध्यादेश मार्फत कानुन ल्याएर सुरक्षित वातावरण सिर्जना गर्न आग्रह गरेका छन्।
‘अहिले महामारीको अवस्थामा सरकारले अहोरात्र खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीको भौतिक सुरक्षाको पूर्ण ग्यारेन्टी गर्दै र सबै घटनाका दोषी माथि तत्काल २०७६–१२–२२ को मन्त्री परिषद निर्णय अनुसार कोभिड रोकथाम नियन्त्रण र उपचारको कार्यमा बाधा अबरोध पुर्याउने, ड्युटीमा खटिएका सुरक्षाकर्मीहरूको कार्यसम्पादनमा बाधा अवरोध गर्नेलाई हुने सरहको प्रचलित कानून बमोजीमको कारवाही गर्न र सोही निर्णयअनुसार पनि यस्ता अपराधिक क्रियाकलापलाई गैरजमानती अपराधको को रुपमा लिई संलग्न व्यक्तिमाथि तत्काल कारवाही गर्न अध्यादेश मार्फत यथाशीघ्र कानुन बनाइ सुरक्षाको सुनिश्चित गर्न संघ जोडदार माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।
कोरोना महामारीको समयमा खटिएका स्वास्थ्यकर्मीलाई उचित प्रोत्साहन नभएको र कार्यस्थलमा असुरक्षित महसुस गर्नुपर्ने अवस्था आएको संघले जनाएको छ।
जेठ १३ गते भेरी अस्पताल तथा त्यसअघि विराट मेडिकल कलेज अस्पतालमा भएको घटनाले सिंगो चिकित्सा क्षेत्र असुरक्षित बन्दै गएको संघले निष्कर्ष निकालेको छ ।
संघले भेरी अस्पतालको घटनालाई गम्भीरतापूर्वक लिएर जेठ १३ गतेलाई कालो दिन घोषणा गरेको र १४ गते कालोपट्टी बाँधी काम गरेको जनाएको छ ।
सात दिनभित्र कानुन नबनाएको खण्डमा कडा कदम चाल्न बाध्य हुने र त्यसको जिम्मेवार सरकार नै हुनुपर्ने संघले जनाएको छ।