काठमाडौं । फोहोर फाल्ने विषयमा बञ्चरेडाँडामा स्थानीय र प्रहरीबीच झडप भएको छ । काठमाडौँको फोहोर फाल्न पुगेका टिपरलाई बञ्चरेडाँडामा अवरोध गरेपछि स्थानीय र प्रहरीबीच झडप भएको हो ।

फोहोर फाल्ने सहमति भएपछि मंगलबार फोहोर बोकेर बन्चरेडाँडा गइरहेका सवारी साधनलाई स्थानीय वासिन्दाले ठाउँ–ठाउँमा रोकेका छन् । सोमबार सहरी विकास मन्त्रालय, काठमाडौँ महानगरपालिका र प्रभावित क्षेत्रका प्रतिनिधिबीच भएको सहमति स्थानीयले अस्वीकार गर्दै फोहोर विसर्जनमा अवरोध गरेका हुन् ।

स्थानीयका अनुसार करिब दुई घण्टादेखि स्थानीय र प्रहरीबीच झडप जारी रहेको छ । प्रहरीले बल प्रयोग गर्दै बाटो खुलाइरहेको छ । प्रहरीले डेढ दर्जन बढी स्थानीयलाई पक्राउसमेत गरेको छ ।
सहरी विकास मन्त्रालयमा सोमबार भएको वार्तामा स्थानीयका माग सम्बोधन गर्ने गरी फोहोरमैला व्यवस्थापन गर्न सहमति भएको हो ।धुनिबेंसी नगरपालिका–१ र ककनी गाउँपालिका–३का क्षेत्रमा प्रहरीले धरपकड गर्दै अवरुद्ध सडक खुलाउने प्रयास गरिरहेको छ ।

सरोकारवाला समितिका उपाध्यक्ष सन्नोत उप्रेतीले प्रहरीले २० जनाभन्दा बढी स्थानीयलाई नियन्त्रणमा लिएको जानकारी दिए । घटनास्थलमा रहेका उप्रेतीले कान्तिपुरसित फोन कुराकानीमा भने, ‘हामीले प्रहरीलाई शान्तिपूर्ण आन्दोलन गरेका हौं दमन गर्ने कोसिस नर्गनुहोस् भन्दाभन्दै उहाँहरु हामीले धर्ना दिइरहेको ठाउँमा आएर धरपक्कड गर्न थाल्नुभयो । महिलामाथि हातपात भएको छ, कसैको लुगा च्यातिएको छ । बुढापाकलाई लात्तीले हानेका छन् । ’प्रहरीले घरघरमै पुगेर स्थानीयवासीलाई लाठी प्रहार गरिरहेको पीडितहरुले बताएका छन् । उनीहरुले सडकमा हिँडिरहेकाहरुलाई पनि प्रहरीले बल प्रयोग गरेको उप्रेतीले बताए ।

धुनिबेंसीको कुरुले क्षेत्र र नुवाकोटको बन्चरेडाँडा क्षेत्र अहिले तनावग्रस्त रहेको उनले बताए । अहिले पनि भिरपाखामा प्रहरी र युवाहरुबीच झडप भइरहेको उनले जानकारी दिए ।‘हामीले सम्बन्धित मानिसहरु आऊ, हिजो भएको सहमतिबारे हामीलाई बुझाऊ, हाम्रो माग पूरा गर भन्दा उल्टै हामीलाई तिमीहरुको जनप्रतिनिधिहरुले निर्णय गरेको भन्दै आक्रमण गरे, ’ उप्रेतीले भने, ‘हाम्रो माग धेरै ठूलो पनि हैन, फागुन २६ गतेको निर्णय कार्यान्वयन गर मात्रै भनेका हौं । ’

सरोकारवाला समितिका अध्यक्ष श्रीराम ढुंगानासहित केही स्थानीयलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नुवाकोटका एसपी रामप्रकाश साहले सिसडोलको अवरोध खोलिएको जानकारी दिए । ‘सिसडोलको अवरोध हटाइएको छ त्यहाँबाट सवारी साधनहरु बन्चरे डाँडातर्फ लागेका छन्,’ एसपी साहले भने, ‘ वर्षाका कारण सडक हिलाम्मे भएकाले केही समय लाग्न सक्छ ।’ अहिलेसम्म १४ जनालाई मात्रै नियन्त्रणमा लिइएर कटुन्जे पुलमा राखिएको उनले बताए ।

 

सोमबार शहरी विकास मन्त्रालयमा मन्त्री रामकुमारी झाँक्री, काठमाडौं महानगरका प्रमुख वालेन्द्र शाह, उपप्रमुख सुनिता डंगोललगायतको रोहबरमा बसेको काठमाडौँ महानगरपालिका, ककनी गाउँपालिका र धुनीबेँसी नगरपालिकाका प्रतिनिधिबीचको बैठकले स्थानीयवासीका माग तथा सर्त पूरा गर्नेगरी फोहोर व्यवस्थापनमा सहमति भएको थियो ।

 

 

सहमतिअनुसार बन्चरेडाँडाको ल्यान्डफिल साइट प्रभावित क्षेत्रमा सहरी विकास मन्त्रालयबाट आगामी आर्थिक वर्ष २०७९,०८० का लागि विभिन्न पाँचवटा सडकका लागि ४२ करोड ५० लाख, नदी नियन्त्रण कार्य, सामुदायिक भवन, मन्दिर निर्माण र वृक्षरोपण कार्यक्रमका लागि एक करोड ७० लाख विनियोजनको प्रतिबद्धता जनाइएको छ । जग्गा अधिग्रहणको सम्बन्धमा वातावरणीय प्रभाव मूल्याङ्कनको प्रतिवेदन प्राप्त भएपछि सो प्रतिवेदनका आधारमा अधिग्रहण गरिने र गर्नुपर्ने जग्गा यकिन गरी अधिग्रहणको प्रक्रिया सुरु गर्ने सहमति छ ।

 

वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनको सिफारिसका आधारमा प्रभावित क्षेत्रका स्थायी बासिन्दाका लागि १० श९याको अस्पताल सञ्चालन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई अनुरोध गर्ने सहमति भएको छ ।

 

काठमाडौँ महानगरपालिकाका तर्फबाट धुनीबेँसी नगरपालिकाका वडा नं. १, ३, ४ र ककनीका वडा नं. १, २ र ३ का प्रभावित क्षेत्रका स्थायी बसोवास गरिरहेका बासिन्दालाई नेपाल स्वास्थ्य बीमा बोर्डबाट विधि र प्रक्रिया पूरा गरी दोहोरो नपर्नेगरी स्वास्थ्य बीमा गर्ने सहमति भएको छ । उक्त काम एक हप्ताभित्रै सुरु गर्ने सहमति भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here