अरूको खेतमा काम गर्छु, दिनको ६०० रुपैयाँ हाजिरा आउँछ । त्यसले सात जनाको परिवार पाल्छु । सरकारले जनता आवास भनेर दुई कोठाको घर बनाइदिएको छ । त्यसमा प्लास्टर र भुईं ढलाइ भएको छैन । अचम्म मलाई ५ करोड कर छलीको मुद्दा छ ।
पहिले म कटहरी बजारमा मजदुरी गर्थें । बजारबाट घुर्दा (घर आउँदा) बाटोमा जुडी खोला घाट नजिकै मन्दिर छ । मन्दिरमा एक जना बाबाजी बस्छन् दास किसन यादव । म पनि दास नै हो, कबिर भक्त । काम नहुँदा बुढ्वा (दास) को सेवा गर्न जान्थें । खेतमा पनि काम गरिदिन्थें । धान काट्ने, झार्ने अरू अरू पनि गरिदिएँ । बाबाजी पनि दास भएकाले माया गरे । उनी मलाई दोसर बेटा (दोस्रो छोरा) भन्थे । मलाई माया पनि गर्थे ।
बाबाजीले नै धेरै पहिले विराटनगरका प्रकाश उप्रेतीसँग चिनजान गराएर एक पटक काठमाडौं पठाएका थिए । उनीहरू दुई जनाबीच पहिलेदेखिकै सम्बन्ध थियो कि थिएन त्यो त म भन्न सक्दिनँ तर, प्रकाशले सुरुमा बाबाजीका छोरालाई काठमाडौं लैजान खोजेका थिए, उनी नमानेपछि हामीलाई जानु भने ।
घुम्छौ, फिर्छाै, हाजिरा पनि पाउँछौ भनेपछि कहिल्यै नगएको काठमाडौं जाउँ न त भन्ने लाग्यो । ठूलो सहर घुमेको पनि थिएन । त्यसपछि हामीलाई प्रकाश उप्रेतीले लिएर गए । म, लखन ऋषिदेवसँगै बसमा प्रकाश उप्रेती पनि गए ।
काठमाडौंको कलंकीमा उतारेर बानेश्वर लगेर लजमा राखे । त्यहाँ प्रकाश घिमिरेलाई भेट गराए । उनीहरूको पुरानै चिनजान रहेछ । उनीहरूसँग बसेर गफ गरेपछि हाम्रो नागरिकता मागेर कागजपत्र बनाए । हामीलाई सहीछाप गर्न लगाए ।
फारम भर्ने ठाउँमा ठूलो भीड थियो । विद्यार्थी पनि थिए त्यहाँ । हामीलाई दिएको फाइलमा ४–५ हजार पैसा राखेर भित्र अफिसमा पठाए । अफिसमा पैसा निकालेर त्यहाँका मान्छेले राखे, एकछिनपछि फाइल हामीलाई नै दिए । त्यसपछि बैंकमा फाइल लिएर गए । उनीहरूले आफ्नै कम्पनी हो, आफैं काम गर्ने हो भनेर सिकाए, बैंकमा हामीले त्यही भन्यौं ।
फारम भरेपछि हामीलाई पठाए । बैंकबाट बाहिर निस्किएपछि सुरुमा आफूलाई प्रकाश घिमिरे भनेर चिनाएका व्यक्तिले हामीबाट फाइल लिएर राखे । त्यसपछि नाम लेख्न लगाए । किन भनेर सोधेपछि महिनाको पाँच हजार घरमा पठाइदिन्छु भने । दिनभरि काम गर्दा ६०० कमाउँथें, पाँच हजार दिन्छु भनेपछि हुन्छ भनिदिएँ ।
त्यसपछि हामीलाई भाडा र दुई दिनको दुई हजार रोजी (हाजिरा) दिएर घर पठाए । काठमाडौं दुई दिन मात्रै बसें, गाडी भाडा खानपान सबै उनीहरूले नै गरे दुई दिन । हामी घर आएपछि दुई महिनासम्म पैसा पनि पठाइदिए । त्यसपछि फोन लागेन ।





