कालीकोट । बम विष्फोटनको घटनामा थप एक बालिकाको मृत्यु भएको छ । कालीकोट जिल्लाको तिलागुफा नगरपालिका–१० मा भएको साे घटनामा परी घाइते भएकी बालिकाको कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको हो ।
घटनामा परी मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ । कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा उपचारका क्रममा ४ वर्षकी सरस्वती रानाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिनुभयो ।
घटनामा परी ४ वर्षीया झरना थापाको स्थानीय स्वास्थ्यचौकीमा उपचारका क्रममा मृत्यु भएको थियो । साे घटनामा घाइते भएका तीन जना बालबालिकाको अहिले कर्णाली प्रादेशिक अस्पतालमा उपचार प्रजिअ शर्माले बताउनुभयो ।
घटना आज बिहान ८ बजेको हो । बच्चा खेल्न जाने क्रममा उनीहरुले नयाँ कुरा देखेर ढुङ्गा हान्दा बम विष्फोट भएको प्रजिअ शर्माले बताउनुभयो । उहाँका अनुसार कुन बम भन्ने नखुलेको र प्रहरी तथा सेनाले अनुसन्धान थालेको छ ।





