सोमबार दिउँसो अचानक काठमाडौं महानगरको डोजर छिरेपछि आन्दोलित बनेको थापाथलीस्थित सुकुम्बासी बस्ती राति पनि जाग्राम बसिरहेको छ । रातको मौका छोपेर जुनसुकै बेला पनि बस्तीभित्र डोजर लिएर महानगर आइपुग्ने शंशयले बस्तीका मान्छेहरु प्रतिकार गर्ने पूर्ण तयारीका साथ बसिरहेका छन् । करिब १५ सयलाई खाना बनाइरहेका उनीहरु ज्यान गए जाओस्, तर बस्तीभित्र मुसो पनि छिर्न नदिने भनेर बस्तीका तीनै चोकमा ‘हाइ अलर्ट’ अवस्थामा छन् ।
बस्तीका तिनै चोकमा ड्युटीको पालो मिलाएर टायर बालिरहेका छन् । वस्तीको मुख्य चोकमा ठूलो आगो बालिएको छ । जहाँ एक कफिन राखिएको छ । कफिनमा काठमाडौं महानगरका मेयर बालेनन्द्र शाहको ब्ल्याक एण्ड ह्वाइट फोटो राखिएको छ । र फोटोमा जुत्ताको माला लगाइएको छ ।
आफूहरुको सबै अपेक्षालाई कुल्चिँदै सडकमा पुर्याउने दुर्नियत बोकेर बालेनले डोजर पठाएपछि स्वयं बालेनसमेत अबका दिनमा सुरक्षित नरहेको जाग्राम बसिरहेका पदम बहादुर सिजापतिले धम्कीपूर्ण भाषामा हामीलाई बताए । राष्ट्रिय सुकुम्बासी मोर्चाको केन्द्रिय सल्लाहकार सिजापतिले भने, ‘प्राण जाला, तर बस्तीभित्र डोजर छिर्न दिने छैनौं । यदि छिरेमा हाम्रो लाशमाथि गुडेर मात्रै टहरा भत्काउने ठाउँमा पुनेछ डोजर । नत्र जे पनि गर्न हामी तयार छौं ।
यसबारे बस्तीका पूर्वअध्यक्ष चन्द्र बहादुर लामाले भने, ‘यो प्रतिकात्मक विरोध र विद्रोह हो । परिआएको खण्डमा बालेनमाथि जहाँ पनि आक्रमण हुन सक्छ ।’ आफूहरुले मेयर शाहलाई यस्तो अवस्थामा राख्नुपर्ला भनेर कहिल्यै नसोचेको बताउँछन् लामा । बरु युवाले महानगरको नेतृत्व गर्न आएपछि आफूहरुको समस्यामाथि गम्भीर बनिदिने अपेक्षा वस्तीका सबैले गरेका थिए ।
काठमाडौं महानगरको टोली सोमबार थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउन गएको थियो। त्यस क्रममा सुकुम्बासीले प्रतिकार गरेका थिए। उनीहरूको आक्रमणबाट महानगर प्रहरी प्रमुख सहित १८ जना घाइते भएको प्रवक्ता नवीन मानन्धरले जनाएका छन्।
उनले सोमबार साँझ प्रेस विज्ञप्ति जारी गरी घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको र उनीहरूको आईसीयूमा उपचार भइरहेको जनाएका छन्।
आक्रमण गर्नेहरूलाई कारबाही गर्न नेपाल प्रहरीलाई पत्राचार गरिएको छ। उनीहरूको नाम खुलाएर महानगरीय प्रहरी परिसर, टेकूलाई पत्राचार गरिएको प्रवक्ता मानन्धरले जनाएका छन्।





