दोहा– स्विट्जरल्याण्डविरूद्ध सुरुवाती ११ मा आफूलाई समावेश नगराएको रिसमा क्रिस्टियानो रोनाल्डोले पोर्चुगलको टोली छोडेर बाहिरिन चाहेको सनसनी समाचार बेलायती मिडियाहरूले प्रकासित गरेका छन्।
म्यानचेस्टर युनाइटेडका पूर्व स्ट्राइकरलाई प्रिक्वाटर फाइनलको खेलमा प्रशिक्षक फेर्नान्डो सान्तोसले प्लेइङ–११ बाट बाहिर राखेका थिए। विश्वकप प्रतियोगिता सुरु हुँदै गर्दा म्यानचेस्टरले उनीसँगको सम्झौंता रद्द गरेको थियो।
राम्रो फर्ममा नरहे पनि सान्तोसले समूह चरणको ३ खेलमा उनलाई मौका दिएका थिए। दक्षिण कोरियासँग समूह चरणको अन्तिम खेलमा आफूलाई दोस्रो हाफपछि निकाल्ने प्रशिक्षकको निर्णयप्रति रोनाल्डोले असन्तुष्टी जनाएका थिए।
यही कुरालाई लिएर सान्तोस र उनीबीच मतभेद बढेको बताइएको छ। रोनाल्डोको व्यवहारबाट सान्तोस खुसी देखिदैनन्। रोनाल्डो पनि आफूलाई प्लेइङ–११ बाट बाहिर राख्ने प्रशिक्षकको निर्णयबाट खुसी छैनन्।
पोर्चुगलबाट प्रकासित रेकर्ड पत्रिकाको खबरलाई महत्व दिँदै बेलायती अखबारले स्विट्जरल्याण्डविरूद्धको खेलअघि रोनाल्डोले आफ्नो सामान प्याक गरेर निस्किन चाहेको बताएका छन्।





