निर्माणाधीन नारायणगढ–बुटवल १ सय १३ किलोमिटर सडकमा पैदलयात्रा गर्दै बुधबार साँझ बुटवल आइपुगेका रवि लामिछानेले सहकारीपीडितका प्रतिनिधिसँग गोप्य रूपमा भेटेका छन् । लामिछानेलाई भेट्न झन्डै सयको संख्यामा सहकारीपीडितहरू पुगेका थिए । उनले केही पीडितसँग बुटवल धागो कारखानाको प्रहरी गार्ड रुममा भेटेका थिए ।
भेटमा पीडितहरूका तर्फबाट भक्तिराम भण्डारीले सहकारीमा बचत भएको रकम गोर्खा मिडिया नेटवर्क, जीबी राई र उनका कम्पनीमा गएपछि बुटवल भैरहवाका ८ हजारभन्दा बढी बचतकर्ता समस्यामा परेको गुनासो राखेको बताए । लामिछानेले सुप्रिमको मात्र नभएर सबैको समस्या समाधान सरकारले नै गर्नुपर्ने भन्दै अब बस्ने प्रतिनिधिसभाको बैठकमा आफ्नो पार्टीले कुरा राख्ने बताएका थिए । तर, गोर्खा मिडियामा रकम गएको विषयमा उनले केही बोलेनन् ।
लामिछानेले जीबी राईको पाटोबारे थाहा नभएको बताएका थिए । ‘त्यो उनीहरूले चोरेर ल्याए, ढाँटेर ल्याए, मागेर ल्याए, कहाँबाट ल्याए, जहाँबाट ल्याए पनि मेरो कन्सर्न जीबी राई, कान्तिपुर, रवि लामिछानेको कुरा होइन, पीडितको कुरा हो,’ उनले भने, ‘अहिले सञ्चालकले चाहेर पनि रकम फिर्ता गर्न सक्ने अवस्था छैन, त्यो सरकारको जिम्मेवारीको कुरा हो । पोलिटिकल पार्टीको लिडरको हिसाबले मेरो पनि जिम्मेवारी हो । मैले गलत गरेको भए मलाई समाउनुपर्छ नि ।’ कान्तिपुर ।





