सर्जन कुमार शाही
मुगु जिल्ला प्रहरी कार्यालयमा गुनासो व्यवस्थापनको लागि क्यु आर काेर्ड (QR Code) को प्रयोग सार्वजनिक गरेको छ । उजुरी पेटीकाको डिजिटल संस्करणको रुपमा मुगु जिल्ला प्रहरी कार्यालयले उक्त QR Code प्रयोगमा ल्याएको हो ।
प्रहरी सेवा प्रवाहलाई छिटो, छरितो, व्यवस्थित, जवाफदेही, पारदर्शी र जिम्मेवारी बोध गराई नागरीक सु-सुम्वन्ध एवं सुशासन कायम राख्न तथा प्रहरी सेवा प्रवाहमा प्रविधिमैत्री प्रणालीको विकास गर्ने साथै प्रहरी सेवा प्रवाहलाई प्रभावकारी र जनमैत्री बनाई गुनासो सम्बोधन गर्दै प्रहरी र नागरिक बिचको सम्बन्धलाई थप प्रगाढ बनाउने प्रयोजनका लागी जिल्ला प्रहरी कार्यालय मुगुले QR Code प्रयोगमा ल्याएको छ ।
आम सेवाग्राहीहरूको हितलाई मध्यनजर गरी प्रहरीले प्रदान गर्ने सेवामा कुनै गुनासो, पीरमार्का या कैफियत भएमा सिधै QR Code मार्फत जिल्लाका जिल्ला प्रहरी प्रमुख समक्ष सेवाग्राहीले आफ्नो भनाई राख्न वा उजुरी गर्न सक्ने जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक (डिएसपी) वीरेन्द्र थापाले बताए।
उक्त QR Code Scan गरी आम नागरीकले प्रहरी सेवा सम्वन्धि सुझाव, प्रहरी कर्मचारी/कार्यालय प्रतिको गुनासो, वेबसाईट तथा सामाजिक सञ्जाल सम्बन्धी सुझाव, सूचना माग (प्रहरी कामकारबाहीसँग सम्बन्धित), नजिकैको कुनै घटना र अन्य सुझाव तथा गुनासोहरुको उजुरी दिन सक्ने साथै आम नागरीकले दिएको सुझाव तथा प्राप्त गुनासोसम्बन्धी विवरण जिल्ला प्रहरी कार्यालय मुगु उजुरी छानबिन तथा पिरमर्का शाखाको ईमेल ठेगानामा दर्ता हुन्छ ।
क्युआर कोडको प्रयोग गर्न आम सेवाग्राहीहरूलाई प्रहरी कार्यालय मुगुले अनुरोध गरेकोछ । जिल्ला प्रहरी कार्यालयमा कार्यान्वयनमा ल्याएको र ईलाका प्रहरी कार्यालय तथा चौकी स्तर सम्म केहि महिना भित्र सर्वसाधारणको सहजै पहुँच हुने उपयुक्त स्थानमा राखी कार्यान्वयनमा ल्याईने थापाले बताए।





