सर्लाहीको बरहथवा नगरपालिका परिसर तनावग्रस्त बनेको छ । नगारपालिकामा रहेको नगर अस्पतालालई प्रदेश अस्पतालमा हस्तान्तरण गर्ने कि नगर्ने भन्ने विषयमा विवाद हुँदै आएको र उक्त विवादलाई समाधान गर्न डाकिएको सर्वदलीय बैठकमा विवाद बढेपछि झडपको स्थिति सिर्जना भएको हो । विवाद बढेपछि नगारपालिकाले सूचना जारी गर्दै बैठक स्थगित गरेको थियो ।
नगरपालिका प्रमुख कल्पनाकुमारी कटुवालका अनुसार १५ शय्याको नगर अस्पताललाई ५० शय्याको बनाउने सहमति गर्दै मधेश प्रदेशलाई हस्तान्तरण गर्ने विषयमा छलफल थियो । त्यसक्रममा पाँच दलीय गठबन्धनले नगर बन्द गराएर विरोध सुरु गरेको इकान्तिपुरलाई जानकारी दिइन् ।
उनले भनिन्, ‘नगरपालिका कार्यालयमा छलफल सुरु हुनेबित्तिकै बाहिर आन्दोलन सुरु भयो । ढुंगामुढा गरियो । अहिले हामी नगर कार्यालयभित्रै थुनिएको अवस्था छ ।’
आन्दोलनकारीले नगर प्रमुखको घरमा तोडफोड र एउटा गाडीमा आगजनी गरेको कटुवालले बताइन् ।





