सल्यानमा फोर्स गाडी भित्तामा ठोक्किएर दुर्घटना हुँदा १६ जना घाईते भएका छन् । नेपालगन्जदेखि रुकुम पश्चिम जाँदै गरेको लु २ ख ५००२ नम्बरको गाडी बिहीबार बिहान सल्लीबजार चौरजहारी सडक खण्ड अन्तर्गत जिल्लाको कुमाख गाउँपालिका-३ गुरेलीमा ब्रेक फेल भइ भित्तामा ठोक्किएको थियो ।
जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी रेसमबहादुर खत्रीका अनुसार घाईते हुनेमा रुकुमको चौरजहारी नगरपालिका-१ का वर्ष ३३ का त्रिलोचन गिरी, सल्यानको कुमाख गाउँपालिका-३ का सन्तोष राना, बसन्त भारती,गीता बुढा, बसन्ता भारती, कुमाख गाउँपालिका १ की बिष्णु चन्द, घनश्याम केसी, पारस भारती, सम्झना भारती, हरि सुनार, विनोदनाथ योगी, विनितानाथ योगी, सलिना शाही, दिपकनाथ योगी, सुजाता बुढाथोकी र बिन्दु लमिछाने रहेका छन ।
घाईते मध्ये चार जना मध्यम र १२ जना सामान्य रहेका छन् । गीता बुढा र त्रिलोचन गिरी लाई थप उपचारको लागि नेपालगन्ज लगिएको र अन्यको चौरजहारी स्थित मिसन अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रनि खत्रीले बताए ।
फोर्स गाडी चालक कुमाख गाउँपालिका ३ का बसन्त बुढाथोकी फरार रहेका र अहिले उनको खोजी भैरहेको उनले जानकारी गराए । उनका अनुसार फोर्स गाडीमा २० जना सवार थिए । तीब्र गतिका कारण ब्रेक फेल भएर भित्तामा ठोक्किएको हुनसक्ने उनको भनाई छ ।





