गोरखा : बारीको सागपात खाइदिन्छ। छोए ठस्स गन्हाउँछ। त्यसैकारण पतेरो किराबाट मान्छे टाढै बस्न रुचाउँछ। तर, त्यही किरा खोज्न बूढीगण्डकी बगरमा भने भीड लागेको छ। चुमनुब्री–३ को घट्टेखोला, सिर्दिबास, सल्लेरी, जगतबगर तथा धार्चे—५ माछाखोला, आरुघाटलगायतका बगरमा स्थानीयले पतेरो संकलन गरिरहेका छन्। त्यो पनि हल्ला हल्लाकै भरमा।

स्थानीयले बगरका साना, ठूला ढुंगा पल्टाउँदै त्यसभित्र लुकेर रहेको पतेरो संकलन गरेका छन्। गेग्य्रान खोतलेर पनि पतेरो समातेका छन्। बूढीगण्डकी बगरमा पहिलो पटक पतेरो संकलन भइरहेको छ। राम्रो मूल्यमा बेच्न पाइने भन्दै विगत चार दिनदेखि स्थानीयवासीले पतेरो संकलन गरेको चुमनुब्री–३ का वडाध्यक्ष रामकुमार गुरुङले जानकारी दिए।

‘पोहोर, परार त यस्तो थिएन, यसपालि के हल्ला आयो कुन्नी, अचम्ममा परियो। मान्छेहरू लाइन लागेर बगरमा पतेरो खोजिरहेका छन्’, वडाध्यक्ष गुरुङले भने, ‘कास्की, लमजुङतिर बस्ने आफन्तहरूले पतेरो राम्रै मूल्यमा बिक्री हुन्छ भनेर खबर गरेपछि हाम्रा गाउँका मान्छे बगर झरेका हुन्। हल्लामात्रै हो कि, सत्य कुरा के हो ? छेउटुप्पो केही थाहा छैन। कसैले त बेची पनि सके भन्ने हल्ला छ।’ चिनियाँ व्यापारीले प्रतिकिलो २–३ हजार रुपैयाँमा किनेका छन् भन्ने हल्ला आफूले पनि सुनेको उनले बताए। पतेरो संकलन नगर्न वडा कार्यालयले अनुरोध गरेको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here