डोल्पाको ठाँगे लेकमा यार्सा संकलन गर्न गएका स्थानीयबीच झडप भएको छ। दुई गाउँको सिमानाका विषयमा विवाद उत्पन्न भएपछि काइके गाउँपालिका-२ सहरतारा र ठुलिभेरी नगरपालिका-१ थालाका स्थानीयबीच झडप भएको हो।

दुई गाउँका स्थानीयले भीरबाट ढुंगा खसाला खसाल गरेर झगडा भएको थियो। झडप नियन्त्रणमा लिन सशस्त्र प्रहरीले दुई राउण्ड हवाई फायरसमेत गरेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी निरीक्षक मनिष थापाले बताए। उनका अनुसार कसले कहाँसम्म यार्सा संकलन गर्न पाउने भन्ने विषयमा दुई गाउँले बीच विवाद भएको हो।

डोल्पाका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतका अनुसार शनिबार जिल्लाको काइके गाउँपालिका-२ सहरतारा गाउँका स्थानीय नागरिक र ठुलीभेरी नगरपालिका-१ थाला गाउँका स्थानीय नागरिक बीच विवाद यार्सा टिप्ने विषयमा पाटनमा विवाद भयो। आ–आफ्नो पाटनको सिमाना भन्दै एक गाउँले अर्को गाउँलाई यार्सा नटिप्न भनेपछि दुवै गाउँका मानिसहरूबीच द्वन्द्व नै चल्यो।

सामान्य रूपमा सुरु भएको विवाद विस्तारै चर्को भएपछि ढुङ्गामुडाको स्थिति नै आयो। जसलाई सशस्त्र प्रहरीले नियन्त्रण गरेको छ। बर्सेनि डोल्पाका पाटनमा स्थानीय नागरिकहरू बीच यार्सा संकलनका क्रममा सामान्य रुपमा विवाद हुँदै आएको छ। यार्सा सिजनमा हुने विवाद समाधानका साथै अन्य सुरक्षाका लागि सुरक्षा व्यवस्था कडा बनाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here