लुम्बिनी प्रदेशका तराई जिल्लामा खुला सीमा नाकाको फाइदा उठाउँदै मापदण्डविहीन ‘नक्कली’ युरिया र डीएपी मल खुलेयाम भित्रिन थालेका छन् ।
प्राङ्गारिक मलका नाममा समेत अवैध मल आयात भइरहेको खुलासा भएको छ । धान खेतीलाई लक्षित गर्दै भारतबाट भित्र्याइएका यस्ता मल कतिसम्म गुणस्तरीय छन् भन्नेबारे कतै परीक्षण गरिएको छैन । खास गरी रुपन्देही, पश्चिम नवलपरासी, कपिलवस्तु, दाङ, बाँके र बर्दियामा नक्कली मल गाउँ गाउँसम्म छ्यापछ्याप्ती फैलिएको किसानहरूको भनाइ छ ।
नेपाल सरकारको मापदण्ड र स्वीकृति नलिई भन्सार नाकाबाटै मल भित्रिरहेको बताउँछन् मल व्यवसायीहरू । भन्सार शुल्क र मूल्य अभिवृद्धि कर (भ्याट) नतिरी सोइल कन्डिसनहरू, रक फस्फेट प्रोम मल पीटुवोफाइभ-१० प्रतिशतजस्ता मल खुलेआम भित्र्याइएको नेपाली मल उद्योगहरूको दाबी छ ।





