राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मंगलबारबाट सार्वजनिक कार्यक्रममा निस्किने भएका छन् । उनको खुट्टामा लागेको चोट बिस्तारै निको हुन थालेपछि उनी सार्वजनिक हुन लागेका हुन् ।
निर्वाचनपछि प्रधानमन्त्रीका उम्मेदवार रहेका पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहसँग यही ५ गते जनकपुरमा आयोजित कार्यक्रममा सहभागी हुने क्रममा उनको खुट्टामा चोट लागेको थियो ।
चोट लागे पनि रविले त्यसलाई वास्ता नगरीकन आफ्ना गतिविधिहरू अगाडि बढाइरहेका थिए । तर सङ्क्रमण बढेपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।
अस्पतालबाट १५ गते नै डिस्चार्ज भए पनि रवि केही दिनसम्म चिकित्सकको सल्लाहअनुसार घरमै रेस्ट गरेको र मंगलबारबाट सार्वजनिक कार्यक्रममा उपस्थित हुन लागेको उपसभापति डिपी अर्यालको भनाइ छ । अर्यालका अनुसार भोलिबाट चितवनतिर निस्कने कार्यक्रम तय भएको छ ।
‘खुट्टामा चोट लागेको कारण उहाँ सार्वजनिक हुन सक्नुभएको थिएन । भोलिबाट उहाँ बाहिर निस्कँदै हुनुहुन्छ । त्यसपछाडि चितवन जानुहुन्छ ।’ उपसभापति अर्यालले खबरहबलाई भने,’अहिले नै उहाँ देश दौडानमा निस्किने अवस्था छैन बिस्तारै निस्कनुहुन्छ । चिकित्सकले केही समय रेस्ट गर्नु भनेको भएर उहाँ आराम गरिरहनुभएको थियो ।’
रविको सङ्क्रमण गहिराइसम्म पुगेर ‘सेलुलाइटिस’ भएको थियो । संक्रमणले प्रभावित क्षेत्रमा सुन्निने, रातो हुने, तातो महसुस हुने र दुख्ने समस्या निम्त्याउँछ ।
सुरुमा निलो भएर रगत ननिस्किएपछि रविले यसलाई नगरेका कारण थप सङ्क्रमण फैलिएको चिकित्सकहरूले जानकारी गराएका थिए ।
चिकित्सकहरूका अनुसार यदि समयमै उपचार नगरेमा यो संक्रमण छिट्टै फैलिने र रगतमा सङ्क्रमण देखा पर्ने स्थिति आउन सक्छ ।
रविले चोट लागेपछि केही दिन यसलाई इन्कार गरेर हिँडिरहेका कारण थप सङ्क्रमण फैलिएको थियो ।





