काठमाडौं, सुन्दर अटो इन्जिनियर प्रा.लि.ले नेपालमै एसेम्बल गरिएको १४ सिटर चार पाङ्ग्रे विद्युतीय सवारी साधन (ईभी) सार्वजानिक गर्ने तयारी गरेको छ ।
कम्पनीले आउँदो हप्ताभित्र काठमाडौंको सडकमा नेपालमा नै उत्पादीत ईभीको परीक्षण गर्ने तयारी गरेको कम्पनीका अध्यक्ष भेष थापाले जानकारी दिनुभयो । उहाँले नेपालमा ११ र १४ सिट क्षमताका सवारी साधन एसेम्बल गर्ने लक्ष्यसहित सवारी एसेम्बल गर्न शुरु गरिएको बताउनु भयो । कम्पनीले २०७६ भदौ २३ गतेदेखि काठमाडौंमा सार्वजनिक बस सेवा सञ्चालन गर्दै आएको छ । ईभी सवारीको प्रवद्र्धन गर्ने सोचसहित कम्पनीले नेपालमा पहिलोपटक सुन्दर चार्जिङ स्टेशन स्थापना गरेर सञ्चालनमा ल्याएको थियो ।
सोही क्रममा तीन पाङ्ग्रे सवारीलाई सुरक्षित र व्यवस्थित चार पाङ्ग्रे सवारीमा रूपान्तरण गर्ने अवधारणा विकास भएर नयाँ सवारी एसेम्बल गर्ने कार्य अगाडी बढाएको अध्यक्ष थापाले जानकारी दिनुभयो । नेपालमै सवारी साधन एसेम्बल गर्ने लक्ष्यसहित विभिन्न देशमा अध्ययन तथा कम्पनी भ्रमणपछि यो परियोजना अघि बढाइएको उहाँले बताउनु भयो ।
६० प्रतिशतभन्दा बढी पार्टपूर्जा नेपालकै र बाँकी आवश्यक सामग्री भारत र चीनबाट ल्याएर गाडी एसेम्बल गरेको उहाँले जानकारी दिनुभयो ।




