सर्जन कुमार शाही मुगु
२०८२ फागुन ७ गते
नेपाली काँग्रेस मुगु जिल्लाका प्रतिनिधिसभा सदस्यका उम्मेदवार खड्क बहादुर शाहीले आगामी प्रतिनिधि सभा निर्वाचन फागुन–२१ लक्षित गर्दै विस्तृत प्रतिज्ञा–पत्र सार्वजनिक गरेका छन्। प्रतिज्ञा–पत्रमा जिल्लाको भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, रोजगार, युवा–महिला सशक्तिकरणदेखि स्थानीय आर्थिक विकाससम्मका विषय समेटिएको छ।
प्रतिज्ञा–पत्र सार्वजनिक कार्यक्रममा उम्मेदवार शाहीले ले मुगुको समग्र विकासका लागि ठोस योजना सहित अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले पछिल्लो समय जिल्लामा देखिएका विकासगत चुनौती, यातायात समस्या, स्वास्थ्य सेवा अभाव, पर्यटन क्षेत्रको अपर्याप्त उपयोग र कृषि क्षेत्रको सुधारलाई प्राथमिकतामा राखेको उल्लेख गरे।
प्रतिज्ञा–पत्रका प्रमुख बुँदाहरू
१) कृषि–पेशागत विकास र आत्मनिर्भरता कार्यक्रम
प्रतिज्ञा–पत्रमा उच्च घनत्वका फलफूलखेती (जस्तै हाई–डेन्सिटी ¥एप्पल), पशुपालन, मत्स्यपालन, कृषि वन (Agro forestry) प्रवर्द्धन, कृषि–सहकारी मार्फत आम्दानी बढाउने कार्यक्रम अघि सारिएको छ।
त्यस्तै कृषि उत्पादन वृद्धि, किसान कार्ड, बीउ–बिजन, मल व्यवस्थापन, कृषि बीमा तथा बजार व्यवस्थापन सुधारमा जोड दिएको छ।
२) सडक तथा यातायात पूर्वाधार विकास
छायाँनाथ रारा नगरपालिका –मुगु सडक, गाउँ–रारा आकस्मिक मार्ग, गमगढी–छायाँनाथ, गमगढी–सोरु, खत्याड , र कारमारोङ सडक सुधार, सम्पर्क सडक विस्तारलगायतका प्रमुख संरचनालाई तीव्र गतिमा निर्माण गर्ने प्रतिबद्धता गरिएको छ।
पुराना सडकलाई मर्मत गर्दै नयाँ सडक विस्तारले आर्थिक गतिविधि बढाउने अभिप्राय प्रतिज्ञा–पत्रमा उल्लेख छ।
३) शिक्षा क्षेत्रमा सुधार
विद्यालय भवन, प्राविधिक शिक्षा, सीपमूलक तालिम, छात्रावास सुविधा, उच्च माध्यमिक विद्यालय सुदृढीकरण, छात्रवृत्ति कार्यक्रम र डिजिटल शिक्षा प्रवर्द्धनलाई प्राथमिकतामा राखिएको छ।
दूरदराजका बस्तीमा शिक्षक अभाव अन्त्य गर्दै गुणस्तरीय शिक्षाको पहुँच सुनिश्चित गर्ने भनिएको छ।
४) स्वास्थ्य सेवा विस्तार
जिल्ला अस्पताल सुदृढीकरण, गाउँ–गाउँमा स्वास्थ्य सेवा, आकस्मिक उपचार सुविधा, सुत्केरी सेवा, मानसिक स्वास्थ्य सेवा (Mental Health), एम.आर.आई., सिटी–स्क्यान जस्ता सेवा उपलब्ध गराउने, –मुगु क्षेत्रका स्वास्थ्य चौकी विस्तार र स्वास्थ्यकर्मी व्यवस्थापन सुधार गर्ने उल्लेख छ।
त्यस्तै, प्रदेश तथा संघीय तहबाट बजेट ल्याएर आधुनिक स्वास्थ्य संरचना विकास गर्ने प्रतिबद्धता गरिएको छ।
५) पर्यटन प्रवर्द्धन र रोजगार सिर्जना
रारा क्षेत्र, मुगुल–खप्तड क्षेत्र, धार्मिक–सांस्कृतिक स्थल, पदमार्ग, होमस्टे पर्यटन, ट्रेकिङ मार्ग, स्थानीय उत्पादन बजार–जडान तथा ग्रामीण पर्यटनले मुगुलाई राष्ट्रिय–अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ।
पर्यटनसँग जोडिएका उद्योग संचालन गरी स्थानीय युवालाई रोजगार दिलाउने नीति समेत समेटिएको छ।
६) महिला, युवा, बालबालिका तथा सीप विकास कार्यक्रम
महिला सशक्तिकरण, घरेलु हिंसा नियन्त्रण, युवा उद्यमशीलता, सीप तालिम, खेलकुद सुविधा, बालबालिका शिक्षा तथा संरक्षण सम्बन्धी कार्यक्रम अघि सारिएको छ।
युवा उद्यमका लागि सहुलियतपूर्ण कर्जा तथा स्टार्टअप कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ।
७) प्राकृतिक स्रोत, वातावरण तथा विपद् व्यवस्थापन
वन संरक्षण, अवैध दोहन रोकथाम, वातावरणीय संरक्षण, विपद् प्रतिकार, पहिरो रोकथाम, जोखिम नक्सांकन, पुनर्वास केन्द्र स्थापना जस्ता विषय प्रतिज्ञा–पत्रमा समावेश छन्।
खड्क बहादुर शाहीले व्यक्त गरेको प्रतिबद्धता
उम्मेदवार खड्क हादुर शाहीले मुगुको दीर्घकालीन विकास, स्थानीय जनताका समस्या समाधान तथा पूर्वाधार निर्माणलाई आफ्नो प्रमुख एजेन्डा बताउँदै प्रतिज्ञा–पत्र जनताको सुझाव, अपेक्षा र आवश्यकता अनुसार तयार गरिएको बताए।
उनले अवसर पाएको खण्डमा प्रतिज्ञा–पत्रमा समावेश योजनाहरू चरणबद्ध रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए ।





